२७ चैत, गुल्मी । नेकपा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले मसानघाट गएको राजतन्त्र कुनै पनि हालत नफर्कने बताएकी छन् ।
एकीकृत समाजवादी प्युठानको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेकी झाँक्रीले दुई दशक अगाडि मसानघाट पुगेको राजतन्त्र कुनै पनि हालतमा नफर्कने बताएकी हुन् ।
लामो समय म्युजियममा थन्क्याएर राखेको व्यक्तिको पक्षमा अहिले सडकमा आन्दोलन गर्ने अवस्था आउनुमा राजनीतिक दलका नेताहरूको केही कमजोरी भएको भन्दै उनले लोकतन्त्रवादी राजनीतिक दलहरूले समीक्षा गर्नुपर्ने बेला भएको बताइन् ।
मुलुकमा यति धेरै परिवर्तन ल्याउन मुख्य भूमिका निभाउने राजनीतिक दलका नेतृत्व गर्ने नेताहरूले अब समीक्षा गरेर नसुध्रिए आगामी निर्वाचनमा लोकतान्त्रिक शक्तिहरूको अवस्था दयानीय हुने उनको तर्क छ ।