जेठ १४ ,गुल्मी – नेपाल सरकारको मन्त्री परिषदको बैठकले जेठ १ गतेदेखि लागुहुने गरि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि गुल्मीको छत्रकोट गाउँपालिकाले पालिका भित्ररहेका सबै विद्यालय संचालन गर्ने भएको छ ।
गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयहरुमा आइतबार भौतिक उपस्थितिमा पठनपाठन संचालन हुने छत्रकोट गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा बुधबार अर्थात् जेठ ११ गते बसेको जनप्रतिनिधि , कर्मचारी र प्रधानाध्यापकहरुको बैठकले उक्त निर्णय गरेको हो ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड – १९ का कारण लामो समय अस्तव्यस्त रहेको पठनपाठनलाई पुरानै लयमा फर्काउने उदेश्यले आइतबार बिधालय खोल्ने निर्णय गरिएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । शिक्षा क्षेत्र विद्यार्थीको भविष्यको पूर्वानुमान गर्दै सुधारका पाइला चाल्ने अवसर हो त्यसकारण यसको प्रत्यक्ष नभई दीर्घकालीन असर देखिने भएकाले पहिले नै बैठक बसेर बिधालय संचालनको निर्णय गरिएको गाउँपालिका अध्यक्ष पाण्डेले बताए ।
विद्यालयको वातावरण र अवस्थाले विद्यार्थीको पठनपाठनलाई निकै प्रभाव पार्छ त्यसकारण विद्यार्थी र अभिभावकको मनसाय बुझेर आउँदा आइतबार देखि नियमित बिद्यालय संचालन हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत पन्थीले छड्के न्युज डटकम सङ्ग कुराकानी गर्दै भने “दुई दिन बिदा हुँदा विद्यार्थीको पढाईमा असर पर्ने र उनीहरु बिग्रने सम्भावना भएकाले पहिले जस्तै आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेका हौं ।

