अनिल खत्री, गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको कार्यालयमा लागेको ताला १९ महिनापछि खुलेको छ । सदस्यतामा भएको शुद्धिकरणपछि भएको विवादका कारण असार २०८० मा लगाइएको ताला सहमतिपछि आज (बिहीबार) खुलेको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा नवनिर्वाचित कार्यसमिति आएपछि दुवै पक्षको सहमतिमा ताला खुलेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव सन्तोष महताराले जानकारी दिए ।
पत्रकारितामा क्रियाशील भएका कोही छुटेको भएमा र मापदण्ड पुरा गरेका क्रियाशील पत्रकारलाई सदस्यता प्रदान गर्ने सहमतिपछि दुवै पक्षको सहभागीतामा ताला खुलाइएको हो ।
गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीमा अनिल खत्रीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिले महासंघको कार्यालयमा लागेको ताला खुलाउन आन्दोलनरत पक्षसँग निरन्तर संवाद गरेको थियो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले आफूहरु पनि महासंघको काममा अवरोध गर्ने उद्देश्य नरहेकोले छलफलबाट नै निष्कर्ष निकालिएको बताए ।
उनले नियतवस सदस्यबाट हटाएकोमा आपत्ति जनाउँदै अब मिलेरै काम गर्ने बताए । संस्थापक अध्यक्ष श्रेष्ठले क्रियाशील र मापदण्ड पुगेका पत्रकारलाई सदस्यता तथा संस्थापकलाई मानार्थ सदस्यता दिने गरी सहमती भएपछि आफूहरूले ताला खोलेको बताए
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका नवनिर्वाचित अध्यक्ष अनिल खत्रीले सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । आन्दोलनरत पक्षको स्वागतयोग्य निर्णयलाई उच्च सम्मान गर्दै अब महासंघले सहमती, सहकार्य र एकताबाटै काम गर्ने बताए ।
महासंघमा नवनिर्वाचित कार्यसमितिले तालाबन्दीकै कारण पदभार ग्रहण गर्न पाएको छैन् । तालाबन्दी खुलेसँगै महासंघले पदभारको कार्यक्रम गर्ने तयारी गरेको छ ।
पत्रकार महासंघ गुल्मीमा शुद्धिकरणपछि २५ जना साधारण सदस्य छन् । सदस्यता विवादकै कारण महासंघको सातौं अधिवेशन पनि आफ्ै भवनमा हुन सकेको थिएन ।