पाल्पा -पाल्पाको बगनासकाली गाउँपालिकाको चिर्तुङधारामा बिहे भोज खाएपछि सिंगो गाउँ बिरामी परेको छ । शनिबार बिहेको भोज खाएका १ सयभन्दा धेरै जना बिरामी परेका हुन् ।
चिर्तुङधाराका दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका ती गाउँलेहरुलाई ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको छ ।
अधिकांशलाई स्थानीय स्वास्थ्यचौकीबाट औषधि उपचार गरे पनि ठिक नभएपछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पुु¥याइएको थियो । मिसन अस्पतालका अनुसार सोमबार २२ जना बिरामी उपचारका लागि आएका थिए । त्यसमध्ये चार जनालाई भर्ना गरिएको छ ।
अस्पतालका प्रमुुख प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार सबै बिरामी खतरामुक्त भएपछि घर पठाइएको छ । घरमा रहेका विरामीहरुलाई अहिले गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ ।
घर–घरमा पुगेर उपचारको व्यवस्था गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । स्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्य शाखाको पहलमा पानीको परीक्षण गर्ने तयारी पनि गरिएको छ ।
यहाँ प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए । जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ जना बिरामी छन् । प्युठान अस्पतालका अनुसार अहिले अधिकांशको अवस्था सामान्य छ ।