गुल्मी : फेन्सी कपडा व्यवसायी समिति मुसिकोटको प्रथम अधिवेशन मुसिकोटमा सम्पन्न भएको छ ।
मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सार स्थित होटल दरबारमा सम्पन्न अधिवेशनले रामहरी सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मुसिकोट नगर समिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा मिना जि.सि., उपाध्यक्षमा सपना रायमाझी, महासचिवमा लिलामणी भट्टराई, सचिवमा विपना खत्री र कोषाध्यक्षमा सागर खरेल लगायत रहनुभएको छ । त्यस्तै सदस्यहरुमा महेन्द्र सापकोटा, निर बहादुर बोहोरा, हरिकला सापकोटा, अर्जुन अर्याल, मुना काफ्ले आचार्य, सलोन शाक्य र झविन्द्र गुरुङ लगायत रहनुभएको छ ।
अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ जसमा मदन घिमिरे, भागिरथ खरेल र राम बहादुर विष्ट रहनुभएको छ ।
फेन्सी कपडा व्यवसायी संघ गुल्मीका अध्यक्ष अर्जुन कार्कीले जिल्लाका १२ वटै स्थानीय तहमा समिति विस्तारको अभियान अन्तिम चरणमा पुगेको बताउनुभयो । विशेषगरी झोले र पोके व्यापारीहरुका कारण मुख्य व्यवसायी धरासयी बनेको भन्दै स्थानीय तहहरुले यस्ता पोके व्यापारीहरु ब्यवस्थापनका लागि आवश्यक कानुन निर्माण गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै जिल्ला सदस्य विष्णु प्रसाद आचार्यले पछिल्लो समय वैदेशिक रोजगारीमा युवाहरुको बढ्दो आकर्षण र आर्थिक मन्दिका कारण व्यवसायीहरु पलायन हुनेक्रम बढ्दै जान थालेको बताउनुभयो ।
कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरउपप्रमुख गंगा श्रेष्ठ, उद्योग वाणिज्य संघ मुसिकोटका अध्यक्ष गोपिकृष्ण खरेल, ग्लोबल आईएमई बैंक वामी शाखा प्रबन्धक बिष्णु कुँवर लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र फेन्सी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
फेन्सी कपडा व्यवसायी समिति मुसिकोटका अध्यक्ष रामहरी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव लिलामणी भट्टराईले गर्नुभएको थियो ।