हाकीम साव आराम हुनुहुन्छ ? यो नगरपालिका स्मार्ट सिटी नगरपालिकाको रूपमा घोषणा भएको छ, यसलाई कसरी कार्यान्वयन गर्ने तर्फ लागिएको छ ?
हजुर आराम नै छु । सहरी विकासको सन्दर्भमा वेसिक सिटी, सस्टेनेबल सिटी र स्मार्ट सिटी जस्ता अवधारणा विश्वव्यापी रुपमा विकसित भइरहेका मापदण्ड र आधारशीला हुन । यिनै सोच र आधारमा रहेर वालिङ नगरपालिकाले सहरी विकासलाई समयरेखा कै परिधिमा समेटेर नीति, योजना तथा कार्यक्रममार्फत आन्तरिकीकरण गरेको छ । यस नगरपालिकाले बृहत योजना निर्माण गरी स्मार्ट सिटीलाई गन्तव्य मानेको छ र यसकै लक्ष्य र परिधिमा केन्द्रित गरी दिगो सहरका आर्थिक, सामाजिक, पूर्वाधार तथा सुशासनका सूचकलाई कार्यान्वयन गरिएको छ । सहरी विकासमा आधारभूत सहर पहिलो खुड्कीलो हो भने दोस्रो खुड्कीलो दिगो सहर हो । स्मार्ट सिटी त गन्तव्य मात्र होइन नतिजा हो । मापनयोग्य र वस्तुनिष्ठ परिणाम हो । जनताले अनुभूत गर्ने सहरी शासनको प्रत्यक्ष लाभ हो । त्यसैले नगरको बृहत योजनामा स्मार्ट सिटीका स्मार्ट सरकार, स्मार्ट अर्थतन्त्र, स्मार्ट पूर्वाधार , स्मार्ट नागरिक चारवटा पिल्लरलाई समावेश गर्नुका साथै योजनाबद्ध विकासकेन्द्रीत भई १०६ वटा नतिजा सूचक तयार गरिएको छ । आर्थिक तथा सामाजिक क्षेत्रलाई प्राथमिकता दिई १००० नतिजालाई समावेश गरी लक्ष्य भेटने गरी कार्यान्वन खाका बनाई रणनैतिक योजना लागू गरिएको छ । तोकिएका यी लक्ष्यहरु प्राप्त गर्न वार्षिक नीति, बजेट र कार्यक्रमले समर्थन गरिरहेका छन । वार्षिक रुपमा प्राप्त उपलब्धि र तोकिएका लक्ष्य बीचको नतिजा मेट्रिक्स बनाई तुलनात्मक अध्ययनको थालनी गरिएको छ र नीतिगत, लगानी, संस्थागत क्षेत्रमा भएका खाडल पहिचान गरिएको छ । यस्ता अबरोध हटाउन थप कानुनी, वित्तीय तथा संस्थागत रणनीति तय गरिएको छ । यसका साथै नेपाल सरकारले आब २०७८÷०७९ को वार्षिक बजेटमा समेत नेपालका अन्य सहरसहित यस वालिङ नगरपालिकालाई स्मार्ट सिटीको क्षेत्रमा कार्यान्वयन गर्ने घोषणा समेत गरेको छ । ग्लोबल रिसाईलेण्ट स्मार्ट सिटी रिसर्च सेन्टरले एसडिजी अन्तर्गत विश्वका १०० स्मार्ट सिटी भित्र वालिङ नगरपालिकालाई समेट छनोट गरेको अवस्था छ ।
कोरोना रोकथाम र नियन्त्रण कार्यमा सफलता प्राप्त गरेको यस नगरपालिकामा के–के स्वास्थ्य पूर्वाधार निर्माण भएका छन् ?
नगरको स्वास्थ पूर्वाधारभित्र नीति, कानुन, कार्यक्रम, संस्था, जनशक्तिलाई समेटिएका छन । त्यसैले यस नगरभित्र सरकारी अस्पताल १, स्वास्थ्य चौकी ९, सहरी स्वास्थ्य केन्द्र ७, गाउँघर क्लिनिक ३५ र आयुर्वेद केन्द्र १ सञ्चालनमा रहेका छन् । बजारमा रहेको गह्रौ प्राथमिक अस्पतालको स्तरोन्नतिको कार्य भइरहेको छ र कोभिड –१९ को तेश्रो लहरको ब्यवस्थापनका लागि अस्पतालमा थप बेड तथा जनशक्तिको तयारी भइरहेको छ । त्यही अस्पतामै अन्य सेवाका साथमा कोभिड–१९ का विरामीलाई उपचारको लागि आईसोलेन कक्ष र एचडियू कक्ष निर्माण गरेर संक्रमितको समेत उपचार भइरहेको छ । स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले सेवाग्राहीको पहुँचका लागि नगरपालिकाको स्वास्थ्य संस्था नभएका वार्डहरुमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । हालैमात्र वडा १४ को डुम्रेभञ्याङमा शहरी स्वास्थ्य केन्द्र बिस्तार तयारीमा छ । साथै पन्ध्र शैयाको नगर अस्पताल सम्झौता भई निर्माणाधीन रहेको छ । यस स्वास्थ्य क्षेत्रलाई व्यवस्थापन गर्नका लागि नगरपालिकाले एकीकृत स्वास्थ ऐन सरोकारवालासँग बसेर तर्जुमा गरिरहेको छ । स्वास्थ्यसेवालाई घरदैलोमा पु¥याउनकै निम्ति नगरका सम्पुर्ण वार्ड तथा नगरलाई पुर्णखोप घोषित गर्नुका साथै सेवा केन्द्रबाट खोप सेवा उपलब्ध गराइएको छ । साथै यस स्वास्थ्य क्षेत्रमा वालरोगको एकिकृत ब्यवस्थापन कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन, सरुवा रोग नियन्त्रण, जेष्ठ नागरीक स्वास्थ्य सम्बन्धी सेवाप्रदान गरिएको छ । वडाकै टोल टोलमा गएर महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ पश्चात समस्या देखिएका विरामिहरुलाई क्रायो थेरापिद्वारा उपचार गर्ने कामको शुरुवात गरिएको छ । टोल टोलमै पुगेर नगरवासीको मृगौला परीक्षण गर्ने कार्यको तयारी छ । हालसम्म स्वास्थ्य विमा कार्यक्रमबाट नगरपालिकाका पुरुष ८१७९ र महिला ८९२७ गरि कूल १७१०६ जना ब्यक्तिहरुले लाभ लिएको अवस्था छ । गह्रौ प्राथमिक अस्पतालमा अप्रेसन द्वारा बच्चा जन्माउने सेवा संचालनमा ल्याइनुका साथै माझकोट स्वास्थ्य चौकीलाई वर्थिङ सेन्टरको रुपमा बिकास गरिने तयारी छ । समय समयमै गाउँ टोलमा घुम्ती स्वास्थ्य शिविर संचालनमा ल्याइ स्वास्थ्य सेवालाई नगरवासीको पहुँच विस्तारमा जोड दिएइको छ ।
यस नगरपालिकामा घुम्न लायक पर्यटकीय स्थलहरू छन्, ती स्थलको विकासका लागि नगरपालिकाले के–के काम गरिरहेको छ ?
वालिङको कला, संस्कृति र ठाउँ, जीवनमा एकपटक घुम्न जाउ भन्ने भावलाई समेटेर पर्यटन प्रवद्र्धनका कार्यक्रम विस्तार भएका छन । यस वालिङ नगर रणनैतिक सहर हो । बुटवलको आर्थिक उन्नतिको लाभ यस क्षेत्रले लिन सक्छ भने पोखराको पर्यटकीय क्रियाकलापको आकर्षण यस क्षेत्रमा हुन सक्छ । त्यसैले पित्लेक, माझकोट, मन्साङकोटजस्ता गाउँमा संस्कृति र समुदायमा आधारित होमस्टे संचालन भएका छन । यस नगरभित्र रहेका गहौसुर, थामको चौर, माझकोट, बाहुनथान, घ्वाङखोलाजस्ता क्षेत्रहरु पर्यटन क्षेत्रमा आकर्षक केन्द्रहरु हुन । गह्रौसुरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विस्तार गरिएको छ । बजार नजिक रहेको घ्वाङखोला क्षेत्रको जैविक तथा हरियालीलाई प्रबद्र्धन गर्दै बोटानिकल गार्डेन निर्माण हुँदैछ । बाहुनथानको मनोरम दृश्यको प्रबद्र्धन गर्दै सिलिकन गार्डेनका रुपमा विकास गर्नुका साथै खाल्टेमा क्यानोनिङको विकासका लागि निजी क्षेत्रलाई साझेदारी तथा सहलगानीमा लैजाने नीति छ । गौशालालाई बहुउपयोगी योजनाको रुपमा विकास गर्दै धार्मिक पर्यटकीय गन्तव्य स्थल बनाउन निजी क्षेत्र तथा धार्मिक संघ–संस्थासँग समन्वयमा व्यवस्थापन गरिनेछ । माझकोट शिवालय अन्तर्गत बुढाकोट पर्यटकीय क्षेत्रलाई पर्यटकीय क्षेत्रको सूचीभित्र समावेश गर्न सम्भाव्यता अध्ययन गरिनेछ । मन्स्याङकोट क्षेत्रमा प्याराग्लाइडिङ क्षेत्रको रुपमा स्थापना गर्न खोजिएको छ । साथै क्यानोइङ, साईक्लिङ, ¥याफ्टिङ जस्ता साहसिक पर्यटकलाई सहयोग पुग्ने खालका पूर्वाधार विकासको सम्भाव्यता अध्ययनमा एवं प्रवद्र्धनात्मक कार्यक्रम संचालन गरिनेछ । हाल सञ्चालनमा रहेका होमस्टेलाई प्रोत्साहन गरिएको छ र ध्यान केन्द्र, योग केन्द्र, सांस्कृतिक अध्ययन केन्द्र, कला केन्द्र , आध्यात्मिक क्षेत्रको पहिचान, संरक्षण र विकास गर्ने कार्यक्रम रहेको छ ।
नगरपालिकाले नागरिकको जीवनस्तर उठाउने र रोजगारी सिर्जना गर्न के काम गरिरहेको छ ?
नगरले आर्थिक विकास रणनीति तर्जुमा गरी रोजगारी सिर्जना र आर्थिक विकासको क्षेत्रमा कार्य गर्दै आएको छ । संविधानले दिएको न्यूनतम रोजगारी सुनिश्चितताका लागि स्थानीय तहमा सामाजिक सुरक्षाको व्यवस्था, बेरोजगार पहिचान र सुचिकरण, दक्ष र सक्षम जनशक्ति विकास, ज्याला वितरणमा जोड दिएको छ । नगरपालिका उद्यम विकास समितिको गठन गरी उद्यम सम्बन्धी नीति तथा कार्यक्रम तय गर्नुका साथै सीप विकास तथा उद्यम बजार, स्रोत तथा सम्भाव्यता अध्ययनमा केन्द्रित छ । साथै रोजगारीका लागि ग्रामिण लेखाजोखा, घरधुरी सर्वेक्षण समूह निर्माण, क्षमता अभिवृद्धि, उद्यमशीलता विकास तालिममा जोड दिइएको छ । नगरकै ग्रामीण क्षेत्रमा होमस्टे प्रवर्धन गरी रोजगारी बढाइएको छ भने अर्गानिक खेति कार्यक्रम लागू गरी रोजगारी सृजना गरिएको छ । नगरका केही भूभागमा आलु, तरकारी र च्याउ पकेट स्थापनामा केन्द्रित कार्यक्रम सञ्चालन भएका छन । कृषकको मागमा आधारित रहेर उन्नत जातको बोका एवं खोर सुधार कार्यक्रम लागू गरिएको छ । घाँस विकास कार्यक्रम अन्तर्गत कृषकलाई घाँसको वीउ बिजन, विरुवा वितरणमा केन्द्रित रहेको छ । स्वच्छ दुध, मासु र अण्डाको उत्पादनको क्षेत्रमा जोड दिइएको छ । नगरका १४ वडामा आब २०७७÷०७८ मा ५२ वटा नर्सरी स्थापना, ६३२ जनालाई कृषि सम्बन्धी तालिम, ३५० जनालाई जीविकोपार्जन तथा उद्यमशीलताको तालिम प्रदान गरिएको छ । साथै बेमौसमी तरकारी खेती तालिममार्फत रोजगारी सृजना गरिएको छ । कृषककै साझेदारीमा टेक्टर मेशीनरी सामानहरु वितरण तथा भैसी प्रबर्धन कार्यक्रम लागू भएका छन । वितीय साक्षरता कार्यक्रम अन्तर्गत नगरको वडा नं २, ६, ८ र १० मा चार वितीय साक्षरता समूह सञ्चालन गरिएको छ । पक्कै पनि यी क्रियाकलापले रोजगारी सृजनामा टेवा दिएका छन । वालिङ बजारमा औद्यौगिक ग्राम निर्माण गरी उद्योगलाई एकीकृत गर्ने योजना रहेको छ र यसबाट पनि रोजगार सृजना गर्ने उद्धेश्य रहेको छ । नगरपालिकामा उद्यमशीलता केन्द्र स्थापना गरी उद्यमी बन्न चाहने व्यक्तिहरुलाई तालिम तथा परामर्श सेवा प्रदान गरिएको छ । त्यसैले हालसम्म सो केन्द्रबाट १३५० जना उद्यम गर्न इच्छुक व्यक्तिलाई सीप सम्बन्धी परामर्श दिइएको छ । साथै रोजगारी र लगानीका इच्छुक व्यक्तिहरुलाई सूची बनाई बैकिङ क्षेत्रसँग लगानीका लागि सुनिश्चित गरिएको छ । यस्ता कार्यक्रमले नगरवासीको जीवनस्तर उकास्ने अपेक्षा राखिएको छ ।
तपाईंले यसअघि गोरखा नगरपालिकामा र अहिले वालिङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई नागरिकको सेवा गर्ने अवसर प्राप्त गर्नुएभको छ, गोरखा र वालिङमा बसेर सेवा गर्दा कतिको फरक अनुभव गर्नुभएको छ ?
हामी कर्मचारीले जहाँ बसेर सेवा गरे पनि जनताकै कल्याण पहिलो प्राथमिकता हो । संविधान तथा कानुनको परिधिभित्र रहेर राज्यले तोकेका सेवा सुविधालाई जनताकै घर दैलोमा पु¥याएर सुशासन स्थापित गर्नु कर्मचारीको दायित्व हो । कर्मचारीमा कानुनमुखी मनस्थिति र सेवामुखी कार्यशैली हुनुपर्छ । गोरखा जिल्लाको पालिकाको भूगोल अलि जटिल रहेकोले सेवाको वितरण प्रकृति विशिष्ट खालको थियो । तर यस सिद्धार्थ राजमार्गले काटेर गएको यस नगरपालिका तुलनात्मक रुपमा सुगम छ । नगरवासीको शीघ्र तथा तत्काल नागरिक सेवाको अपेक्षा छ । सीमीत साधन, स्रोत तथा जनशक्तिका बाबजुद नगरपालिका जनताको सेवाका लागि अहोरात्र जुटेको छ । वालिङको समाज शिक्षित र सूसुचित भएकोले छिटो छरितो सेवा प्रवाह गर्न दबाब छ । जनताको घर आँगनमा नै राज्य उपस्थित हुनुपर्ने माग छ । त्यसैले यस नगरवासीको सेवा गर्ने अवसरले जिम्मेवार, नतिजामूलक र चुस्त बनाएको अनुभूति छ ।
स्थानीय सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न के–के काम गर्नुपर्ने रहेछ ?
नेपालको संविधान र प्रचलित कानुनले स्थानीय सरकारलाई मुख्यत नीति तथा कानुन निर्माण, नियामक कार्य, विकास व्यवस्थापन, सेवा प्रवाह, विपद व्यवस्थापन, सुशासन स्थापनाको कार्यक्षेत्र तोकेको छ । यसका लागि स्थानीय सरकार तथ्यपरक नीति तर्जुमा र व्यावहारिक कानुन निर्माण गर्नुपर्दछ । साथै स्थानीय सरकारले आफूले गर्ने कार्यको योजना बनाई रणनैतिक कार्ययोजना बनाउनुपर्छ । यसका लागि उपलब्धि हासिल गर्न सरोकारवाला सबै प्रतिबद्ध हुनुपर्दछ र यसलाई बजेट तथा कार्यक्रमले समर्थन गर्नुपर्छ । निर्वाचित जनप्रतिनिधिमा सरकार सञ्चालनको विधि, थिति र पद्धतिको सुझबुझ र परिपक्वता चाहिन्छ । कर्मचारीहरुले पदाधिकारीहरुसँग लय मिलाएर नतिजामुखी र सेवामैत्री बन्नुपर्छ । सरकार सञ्चालनमा कानुन आफैमा लक्ष्मण रेखा हो र यसको कुशल र विवेकशील परिपालनाले निर्णयहरु सबल बन्छन । सरकार सञ्चालनका निर्णयकर्ताहरुमा उचित भिजन हुनुपर्छ । त्यो भिजनलाई जनकूल मन मस्तिष्क छुने गरी कर्मचारीले सेवा प्रवाह गर्नुपर्दछ । राजनीतिज्ञ अभिभावक र कर्मचारी सहयोगी भूमिकामा रहेर जनताप्रति जवाफदेही भएर कार्यसम्पादन गर्नुपर्छ । नीति र कानुन अनुसार कार्यक्रम, कार्यक्रम अनुरुप पर्याप्त बजेट र कार्ययोजनामा आधारित कार्यशैली हुनुपर्छ । तबमात्र जनताको सेवाको मागलाई सम्बोधन गर्न सकिन्छ । नगरपालिका आफैमा समुह हो र सो समुहमा सही कार्यविभाजन, जिम्मेवारी र दायित्व हुन्छ । यसलाई सबैले परिपालन गर्नुपर्दछ । समन्वय र सहकार्यको संस्कृति त कार्यशैलीको मेरुदण्ड नै हो । सबै तहका सरकार र निकायसँग सहकार्यमा कार्य गर्नुपर्दछ । स्थानीय सरकारले कार्यसम्पादन गर्दा संविधानले दिएको एकल सूचीको कार्यान्वयनमा स्पष्टता, सरलता र नबाझिने प्रकृतिको नीति तथा कानुन बनाउन जरुरी छ । साझा सूचीको हकमा समन्वय, सहअस्तित्व हुनुपर्दछ । स्थानीय सरकारको क्षेत्राधिकार बढी छ र जनताको आंकाक्षा चुलिदो छ । यस खाडललाई पुर्न स्रोत र लगानी आवश्यकता बढी चाहिन्छ । पालिकाहरुले संघ र प्रदेशबाट प्राप्त हुने अनुदानको अन्तरनिर्भरता घटाउन आन्तरिक आम्दानीका स्रोतको खोजी गर्नुपर्छ । मौजुदा स्रोत र साधनको विवेकशील र कुशल व्यवस्थापन हुनुपर्छ र उत्तरदायी शासन लागू हुनुपर्दछ । जनताका आवश्यकतालाई मार्गदर्शन मानेर सेवा प्रवाह गर्नुपर्छ । सेवा जनताको पहुँच र निगरानीमा हुनुपर्दछ । प्रविधिको उपयोग तथा पूर्वाधारको गुणस्तरमा ध्यान दिनुपर्दछ । त्यसैले आपसी विश्वास, सदाचारिता, प्रतिबद्धता र सहकार्य स्थानीय सरकार सञ्चालनका प्रभावकारी सूत्रहरु हुन ।
वालिङमा अब गर्नुपर्ने काम के–के हुन् ?
वालिङ नगरले स्मार्ट सिटीको गन्तव्यमा रहेर विकासको मोडालिटी तय गरेकोले त्यसका लक्ष्य प्राप्ति हुने गरी कार्यसम्पादन गर्नु पर्छ । हामी आधारभूत सहरको चरणमा रहेकोले गन्तव्यमा पुग्न विद्यमान संरचनामा लगानी र प्रतिफल आउने गरी कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्छ । नगरका ग्रामीण स्थानका सडक पूर्वाधार कच्ची अवस्थामै रहेकोले तिनको गुणस्तर सुधारका साथै स्तरोन्तिमा ध्यान दिनुपर्छ । नगरले बीसभन्दा बढी स्थानीय ऐन र कानुन निर्माण गरी सहरी निर्माणका आधार तय गरेको छ । तर नगरको आन्तरिक आय कमजोर भएकोले लगानी जुटाई ती ऐन कानुन कार्यान्वयन गर्नुपर्छ । नीति र कानुन आफैमा कार्यान्वयन हुँदैनन । यसबाट उपलब्धि निकाल्न बजेटको आवश्यकता पर्दछ । रणनैतिक सोच अनुरुपका योजना तथा कार्यक्रमहरुलाई संघ तथा प्रदेशसँग समन्वय र सहकार्य गरी कार्यान्वयन गरिनुपर्छ । आर्थिक तथा सामाजिक उन्नतिका लागि स्थानीय तहमा रोजगारीकेन्द्रीत कार्यक्रम लागू गर्नुपर्छ भने पूर्वाधार विकास अन्तर्गत सडक, भवन तथा उद्यमका स्थानीय गौरवका आयोजनाले प्राथमिकता पाउनुपर्छ । यसका अतिरिक्त रणनीतिक कार्यक्रमलाई बहुवर्षीय रुपमा लगेर कार्यान्वयन गरी लक्ष्य पूरा गरिनुपर्छ । नगरका सबै घर सडक सञ्जालमा जोडिएका छन र अब ती सडकहरुको विस्तार, स्तरोन्नति र गुणस्तरमा यथेष्ट लगानी हुनुपर्छ । नगरका गेम चेन्जर योजना तथा कार्यक्रम तर्जुमा गरी १४ वटै वडाको जनजीवनमा परिवर्तन ल्याउने अभ्यासलाई कार्ययोजनाको ढाँचामा रुपान्तरण गर्नुपर्छ । कृषि तथा पशुपालनको क्षेत्रका कार्यक्रमलाई पहिलो प्राथिमकता दिई कृषकको उत्पादनलाई बजारमा जोड्नुपर्दछ । विपन्न वर्गलाई संरक्षण गरी आय आर्जनमा जोडने कार्यक्रम सञ्चालन गरिनुपर्छ । सेवा प्रवाहलाई सेवामैत्री बनाई जनताप्रति नगरको विश्वास वृद्धि गर्ने गरी कार्यसम्पादन हुनुपर्छ । यसका अतिरिक्तपूर्ण रुपमा खरका छाना विस्तापित कार्यक्रमको निरन्तरता रहेको छ ।
यस नगरपालिकामा यो वर्ष प्रमुख प्राथमिकतामा परेका विकास योजनाहरु के–के हुन् ?
कोभिड १९ का कारण उत्पन्न परिस्थितको आंकलन गरी नगरको आर्थिक विकास रणनीति तर्जुमा गर्ने कार्यक्रम रहेको छ । स्थानीय तहमा रोजगारी सृजना, आय आर्जन तथा बिपन्न वर्गको उत्थानमा केन्द्रित रही कार्यक्रम तय भएका छन । नगरले कृषि तथा पशुसेवाको क्षेत्रमा सहुलीयतपूर्ण व्याजदरको सुविधालाई नगरपालिका जमानतमा बसी सहकारी, बैक तथा वित्तियसंस्थाद्धारा ऋण उपलब्ध गराईने योजना छ । नगर अन्तर्गत विशेषज्ञ सेवा सहितको ५० वेडको अस्पताल निर्माण गरी संचालनमा ल्याईने कार्यक्रम छ । पर्यटकीय क्षेत्रहरुको पहिचान, संरक्षण र विकासमा जोड दिइनेछ । यस्तैमा घ्वाङखोला क्षेत्रको जैविक तथा हरियालीलाई प्रबद्धन गर्दै “बोटानिकल गार्डेन” निर्माणको लागि कार्य भइरहेको छ । बाहुनथानको मनोरम दृश्यको प्रबर्धन गर्दै “सिलिकनगार्डेन”को अवधारणमा कार्य गर्ने सोच छ । नगरको खाल्टे क्षेत्रमा क्यानोनिङको विकासका लागि निजी क्षेत्रलाई साझेदारी तथा सहलगानीका लागि आब्हान गरिनेछ । थामको चौर, माझकोट, बाहुनथान, घ्वाङखोला जस्ता अन्य पर्यटकीय तथा वनभोज स्थलहरुको स्तरोन्नतीको लागि आवश्यक व्यवस्था मिलाइनेछ । स्थानीय उद्योग ग्रामको विस्तार गरी उद्योग व्वस्थापनलाई एउटै स्थलमा एकीकृत गर्ने लक्ष्य छ । वालिङ नगरपालिकामा अवस्थित खेलकूद मैदानलाई पूर्वाधारयुक्त सुविधा सम्पन्न रंगशाला, नियमित खेलकुद, खेल प्रतिष्ठान निर्माण गरिने कार्यक्रम छ । यस वालिङ नगरभित्र रहेका खरका छानालाई जस्तापातामा रुपान्तरण गरिनेछ । नगरको फोहर व्यवस्थापनमा शून्य फोहरको धारणामा गई फोहरलाई आधुनीक प्राविधि प्रयोग गरी स्रोतलाई बहुउपयोगीको रुपमा उपयोग गर्ने कार्यक्रम छ । फिस्कल स्लज म्यानेजम्यान्टलाई व्यवस्थित र सुरक्षित गरी आधुनिक प्रविधि अपनाई वहुउपयोगी वनाइने कार्यक्रम छ । नगरका सबै वडा केन्द्र जोड्ने रणनैतिक सडकहरु सञ्जाललाई महत्व दिइएको छ । कार्यक्रम तथा योजनालाई प्राथिमिकीकरण र बहुवर्षीय तवरले विनियोजन गरी कार्यान्वयनमा ल्याइएको छ । शिक्षा क्षेत्रमा कोभिड १९ को कारण उत्पन्न परिस्थितिका कारण वैकल्पिक शिक्षा लागू तथा आईसिटी मार्फत पठन पाठन कार्यक्रम लागू गरिएको छ । विशेष गरी कोभिड १९ का कारण शिथिल भएको स्थानीय अर्थतन्त्रको पुनरुत्थानका लागि नगरले आर्थिक विकास रणनीति तर्जुमा गरी उत्पादन, रोजगारी र वितरणमा कार्य गर्ने लक्ष्य छ ।
वालिङ नगरपालिकामा सडक संजालको अवस्था कस्तो छ ?
यस नगर आधारभूत सहरकैं क्रममा रहेकोले सडक पूर्वाधार अन्तर्गत पर्याप्त सुधार गर्नुछ । नगरमा वि. स. २०७४ पछि सडक क्षेत्रमा नयाँ ट्रयाक १०९ किमी खोलिनुका साथै सडक ग्राभेल २० किमी भएको छ । यसका साथै सडक मर्मत २१७ किमी र सडक बिस्तार १२९ किमी भएका छन । साथै यस समयावधिमा गोरेटो बाटोसमेत १५ किमी निर्माण भएका छन । सबै वडाका टोल बस्तीमा सडक पहुँच पुगेको छ र वडाका रणनैतिक सडकको क्षेत्रफललाई विस्तार गरिएको छ । नगर सडक सञ्जालमा सबै जनसंख्यालाई समेटिएको छ । आँधिखोला कोरिडोर निर्माण, सिद्धार्थ राजमार्ग विस्तार कार्य, मोटेरेवल पुल निर्माण, सडक सुधारकेन्द्रीत कार्यक्रम समेत यस क्षेत्रमा भएका छन । जसले जनताको आगमनमा सहजता र सुगम भएको छ । पहिलो प्राथमिकता सडक पहुँच भएकोले यस क्षेत्रमा नगरले गुणस्तर, मर्मत सम्भार तथा सुधारका क्षेत्रमा पर्याप्त ध्यान दिएको छ । तर ग्रामीण क्षेत्रमा १२ महिनै सवारी साधन गुड्नका लागि पर्याप्त लगानी र गुणस्तरको आवश्यकता रहेको छ ।
अन्त्यमा पब्लिक आवाज पत्रिका मार्फत आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?
कोभिड १९ को जोखमबाट अझै पनि हामी मुक्त भइनसकेको अवस्था छ । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आफ्नो दैनिकी चलाउन अनुरोध छ । नगरको विकास र संमृद्धिका लागि नगरवासीको रचनात्मक सुझाव, खबरदारी, निगरानीले हामीलाई थप जिम्मेवार बनाउने गर्दछ । यसका लागि निरन्तर रुपमा नगरवासीहरुको सल्लाह तथा सुझावहरु प्रार्थनीय छन । नगरवासीको मन र मस्तिष्क छुने गरी सदैव नगरपालिका कार्य सम्पादन गर्न प्रतिबद्ध छ । त्यसैले नगरको विकासका लागि सहयोग र सदभाव जरुरी भएको कुरा व्यक्त गर्न चाहन्छु ।