गत वैशाख महिनामा रञ्जिला कृषि तथा पशुपक्षी फार्म स्थापना गरेर व्यवसाय सुरु गरेका ३९ वर्षीय उनले ‘युट्युब’ हेरेर यससम्बन्धी जानकारी लिएको बताए । सात रोपनी पाखोबारीलाई घेराबार गरेर आकाशलाई जालीले छोपिएको खोर बनाएका छन् ।
पहिलो चरणमा ६०० वटा चल्ला हालेका उनले छ महिनामै आम्दानी लिन थालेका छन्। प्रतिगोटा रु तीन हजार ५०० का दरले १०० वटा कालिज बिक्री भइसकेको छ । पोखराबाट थप ५० वटा भाले र ३० वटा पोथी कालिजको ‘अर्डर’ आएको व्यवसायि घिमिरेले जानकारी दिए ।
उनका अनुसार खोर निर्माण र चल्ला खरिदमा रु २० लाख लगानी भएको छ । मकै, गहुँको घरायसी र बजारबाट खरिद गरेको दानाको साथै हरियो घाँसलाई आहराको व्यवस्थापन गरेका छन् ।
बेनी नगरपालिका–४ सिङ्गाको हरियाली कृषि समूहको फार्मले गत वैशाखदेखि कालिजको चल्ला उत्पादन गर्दै आएको छ । पाल्नका लागि चल्ला र मासुका लागि वयस्क कालिजको माग बढेको हरियाली समूहका सञ्चालक शेरबहादुर केसीले बताए ।
“कालिजको मासुको परिकार होटल तथा रेष्टुरेष्टको मेन्यूमा थपिएको छ”, उनले भने, “सोख र व्यवसायका लागि कालिज पाल्ने क्रम बढेको छ ।” चार हजार कालिज मासुका लागि बिक्री योग्य भएका हरियालीको फार्मबाट दैनिक २०० गोटा चल्ला बिक्री हुन्छ ।
पाँच महिना पालेपछि दुई किलोभन्दा बढी तौल हुने कालिज मासुका लागि खान योग्य हुन्छन् । कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ ।
पछिल्लोपटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन् ।
कालिज नेपालमा पाइने जङ्गली पक्षी हो । स्वादिलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको व्यावसायिक पालन भएपछि मासुका लागि जङ्गलको कालिज चोरी शिकारी न्यूनीकरणमा सहयोग पुगेको वन प्राविधिकहरुले बताएका छन् ।