पौष ०६, कालिकोट : अहिले नेपालका सबै स्थानिय तह भ्रष्ट्राचारमा लिप्त भएको भन्दै जनस्तरबाट ब्यापक गुनासो आइरहेको बेला कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ का वडाध्यक्ष नरेश बमले भने आफूले ४ वर्षसम्म पाएको सरकारी सेवासुविधाको रकमले एम्बुलेन्स खरिद गरेर उदाहरणीय काम गरेका छन् ।
सबैले आफुले पाउने सेवा आफ्नै स्वार्थमा खर्च गर्ने गर्दछन् तर बमले भने जिल्लाका बिरामीलाई सेवा दिनका लागि भन्दै आफ्नो सेवासुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर नेपालकै वडाध्यक्ष मध्ये नमूना वडाध्यक्ष भएर देखाएका छन् ।
गत ०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो ५ वर्षे कार्यकालमा सरकारले दिएको सेवासुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताए । उनले निर्वाचन परिणाम आए लगत्तै आफुले सरकारी सेवासुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको भन्दै त्यो पाएको सेवासुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनतालाई उपचार दिएको बताए ।
एम्बुलेन्सले जिल्लाभरिको बिरामीलाई आवश्यकता अनुसार सेवा दिने बमले बताए । एम्बुलेन्स एकल महिला, अति गरिब, वृद्धवृद्धाहरुलाई निःशुल्क प्रयोगमा ल्याउने मबले योजना सुनाए ।
वडाध्यक्ष बमले आफ्नो सेवासुविधाबाट खरिद गरिएको एम्बुलेन्स कर्णाली सेवा समाजद्वारा सञ्चालन हुने जानकारी दिए ।