छड्के न्युज डट कम /चैत २३ गुल्मी : गुल्मीको मालिका गाउँपालिकाले पालिका भित्रका घरधुरीका लागी विद्युतिय घर नम्बर र परिचय पत्र वितरण कार्यको शुभारम्भ गरेको छ । विहिवार गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँपालिकाको केन्द्र अर्खाबाङ्गबाट डिजिटल परिचयपत्रको शुभारम्भ गरेका छन् ।
गाउँ गाउँका डिजिटल परिचयपत्रको लागी घरघरमा कर्मचारी खटाएर विवरण संकलन गरिएको छ । गाउँपालिकाले सुचना र प्रविधिमा थुप्रै विकास गरेको र गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको अबस्था बुझ्न यस डिजिटल परिचयपत्रले ठुलो मदत पुग्ने गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले बताए ।गाउँपालिका द्धारा वितरण गरिएको घर नम्बरमा प्रत्येक घरको (GIS) प्रविधि मार्फत पालिका भित्रका प्रत्येक घरको डाटा संकलन गरिएको छ । प्रत्येक घरको (G±) कोडलाई आधार मानेर विद्युतिय घर नम्बर कायम गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले निर्माण गरेको उक्त विद्युतिय कोड स्क्यान गरी सजिलै आफुले चाहेको घर सम्म पुग्न सकिने छ भने डिजिटल परिचय पत्र मार्फत घर परिवारको व्याक्तिगत विवरण तथा टोल र सम्पर्क र घरको नक्सा हेर्न सकिने गाउँपालिकाका प्रबक्ता तथा वडा नं ६ का वडाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।घर घरमा उपलब्ध गराईएको विद्युतीय घर नम्बर वा परिचय पत्र नम्बरको शुभारम्भ गर्नु पहिले गाउँपालिकाले डिजिटल भिलेज प्रोफाईल निर्माण गरिसकेको छ ।
डिजिटल परिचयपत्र मार्फत सम्पुर्ण परिवारको व्याक्तिगत , सामाजिक, आर्थिक, पारिवारिक, घरको भौतिक अवस्था लगाएत २ सय ४६ वटा विवरण , गाउँपालिका विनियोजन गरेको बजेट, योजना तर्जुमा गर्नमा समेत निकै महत्वपुर्ण भूमिका रहने प्रवक्ता गिरीले बताए ।डिजिटल नम्बरमा भएका सम्पुर्ण विवरणहरु नियमितरुपमा वडा तथा गाउँपालिकाबाट अध्याबधिक हुने छन् ।