जेठ २०, काठमाडौ – जहाज दुर्घटनाको खबरपछि आइतबार दिनभर किस्मीका आन्त र साथी पोखरा विमानस्थलमा जम्मा भए । केही खबर आइहाल्ने आशमा साँझसम्म विमान`स्थल छाडेनन् । ‘विमानमा रहेका २२ जना सकुशल’ भन्ने खबर कतैबाट आइहाल्छ कि भन्ने पर्खाइमा थिइन् शर्मिला ।
उनका आँखा ओभानो थिएनन् । त्यस दिन मौसमको खराबीले जहाजको खोजी कार्य रोकियो । सोमबार स्याङ्जाबाट हजुरआमा, आमा, मामा, आफन्त, छिमेकीको टोली पोखरा विमा`नस्थल आइपुग्यो । उनका बुबा आएनन् ।
बिहान साढे सात बजे जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको खबर आयो । २२ जनाकै शव संकलन गर्दा दिउँसोको ३ बजिसकेको थियो । विमानस्थलमा भने आफन्तको रुवाबासीको कारुणिक दृश्य देखिन्थ्यो । ‘तिम्रो हातको खाना खान आउँछु, पकाएर राख भन्नुभएको थियो, डाँको छाड्दै शर्मिलाले भनिन्, ‘आउनु न दिदी । मेरो प्राणभन्दा प्यारो दिदीलाई कसरी बिर्सिम् ?’
किस्मीकी आमा विष्णुदेवी अचेत थिइन् । जब बिउँझिन्थिन्, छोरीको खोजी गरिहाल्थिन् । ‘मेरो छोरी भएको ठाउँमा लैदेऊ’ भन्थिन् । उनलाई उमासराले सम्हालिरहेकी थिइन् । बालखैबाट पालेकी नातिनी गुमाएकी छन्, छोरी अर्धचेत छिन्, उनको बोलीमा भने उस्तै हक्कीपन थियो ।
सबैलाई नरुन सम्झाइरहन्थिन् । सबै शव काठमाडौं लैजाने भएकोले यती एयरले परिवारलाई जहाजमा पठाउने व्यवस्था गरेको थियो । विष्णुदेवीले ‘त्यही जहाजमा छोरीको त्यस्तो घटना भयो, म जान्नँ’ भनिन्।
उमासराले छोरीलाई सम्झाइन् । ‘अहिलेसम्म आँखाले देखेको छैन,’ लौरो टेकेर विमान`स्थलको टर्मिनल भवनभित्र पाइला बढाउँदै उनले भनिन्, ‘नातिनी मेरै अघि आएर हजुरआमा भनेर बोलाउँछे कि झैं लाउँछ ।’