कृष्ण अन्जान ज्ञवाली /असार ३२, गुल्मी – रुरुक्षेत्र गाउँपालिका वडा नं। १ च्युरेक ठाडाबाटको जम्दार टोलमा बुधबार बिहानै देखि चहल पहल थियो । भएभरका छोरा बुहारी नातिनातिना पलाँति खलाँति जम्मा भएका थिए । गाउँभरि ध्यान जम्दार्नी आँबैको घरतर्फ केन्द्रित थियो ।
घरभरी परिवार जम्मा हुँदा जम्दार्नी आमा खुसीले गदगद छन र कहिले नाति नातिनासँग कुरा गर्छिन । कहिले साना पलाँतिनि खेलाउँछिन । एउटा दुर्लभ दिन, एउटी आमा छोराका चौरासीपुजामा सरिक हुने यो सयोग सम्भवत अहिले सम्म सुनिएको छैन जुन संयोग जम्दार्नी आँबैको घरमा जुटेको छ ।“यस्तो कर्म सबैको कहाँ हुन्छ र आमाले छोराको चौरासी गरेको यो सयोग हजारौं वर्षमा सुन्न पाईन्छ र हामीले यो अवसर देख्न पायौंँ ।
हामी धन्य छौँ” च्यूरेकका पण्डित पशुपति घिमिरेले भने । जम्दार्नी आँबैका जेठा छोरा धन बहादुर सुवेदी क्षेत्रीको चौरासी पुजामा एकसय दस वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छोराको दिर्घ जीवनका लागि आशिर्वाद दिईरहेको नजारा देख्न लायक थियो ।बिक्रम सम्वत १९६९ मा च्यूरेक ठाडाबाटाका वीर बहादुर क्षेत्रीकी जेठि छोरिको रुपमा जन्मेकि इन्द्र कुमारी क्षेत्रीको विवाह पनि ठाडाबाटाकै पदम बहादुर सुवेदीसँग भएको थियो ।
भारतको ९ जिआरमा भर्ति भएका जमदार्नी आँबैका बुढा फौजमा जमदारको दर्जा पाएपछि बुढा जमदार बा बने र इन्द्र कुमारीको नाम जम्दार्नी आँबै बन्यो ।जम्दार्नी आँबैको तिनभाई छोरा बुहारी नाति नातिना पलाँति खलाँति गरि चारदर्जन परिवार छन । जेठा छोरा धन बहादुरसंग बस्दै आएकी जम्दार्नी आंबैको रेखदेख जेठि बुहारी तुल्सा सुवेदीले गर्दै आईरहेकी छन तर आमा प्रतिको जिम्मेवारी सबै छोरा बुहारी नाति नातिनाले उत्तिकै लिएका छन ।
छोराको चौरासीमा आँखाबाट खुसिका आँसु झार्दै जम्दार्नी आँबैले छोरालाई आशिर्वाद दिईन र भाग्यमानि छोराले एक सय दस वर्षकी आमाबाट शिर निहुर्याएर आशिर्वाद लिए ।