छड्के न्युज डटकम/साउन ०६ गुल्मी –गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीको नवनिर्मित कभर्डहलको उद्धघाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच कभर्डहलको रेसुङ्गा नगरपालिकाका उपमेयर अमृता देवि कुवँरले उद्धघाटन गरेकी हुन् ।“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद” भन्ने मुलनाराका साथ कभर्डहल निर्माणको कार्य २०७७ साल जेठ १७ गते शिलान्यास गरेर काम अगाडि बढाइएको थियो ।
कर्भडहल निर्माणको लागी शहरी बिकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाई रुपन्देहीको ४३ लाख ७९ हजार २ सय २८ रुपैयाँ ४४ पैसा,सामाजिक बिकास डिभिजन कार्यालय पाल्पाबाट १० लाख र रेसुङ्गा नगरपालिकाको २ लाख ५० हजार गरी कुल ५७ लाख ५४ हजार २ सय २८ रुपैया ४४ पैसामा कभर्डहल निर्माण भएको निर्माण समितिका अध्यक्ष तथा गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघका उपाध्यक्ष हरिप्रसाद पाण्डेले जानकारी दिए ।
नवनिर्मित कभर्डहलको १९.५ मिटर लम्बाइ ,१२.६ मिटर चौडाई र ११.५ मिटर उचाई रहेको छ । कभर्डहल निर्माण सुनिल समीर वान डिरेक्सन जे.भी. र उपभोक्ता समिती मार्फत गरिएको थियो ।
रेसुङ्गा नगरपालिका ७ मा निर्माण भएको कभर्डहलको संंरचना र निर्माणमा प्रयोग गरिएका सामाग्री गुणस्तर भएको कार्यक्रमका बिशेष अतिथि (नेकपा) एमालेका नेता तथा पुर्वइन्जिनियर राजेन्द्र प्रसाद पाण्डेले बताए । रेसुङ्गा नगरपालिकाद्धारा संचालित आयोजना मध्ये कभर्डहल पनि एक भएकाले यसको ब्याबस्थापन र संरक्षण सबैको दायित्व रहेको पुर्वइन्जिनियर पाण्डेले बताए ।
खेलले खेलाडीलाई अनुशासित तथा गतिशिल बनाउने भएकाले कभर्डहलमा आवश्यक बिभिन्न खेलकुद सामाग्री तथा बजेटको ब्यवस्था नगरपालिकाले गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिकाका उपमेयर अमृतादेवी कुवँरले प्रतिवद्धता गरिन् । उपमेयर कुवँरले कार्यक्रममा बोल्दै व्याटमिन्टन संघको स्वामित्वमा निर्माण भएको कभर्डहलले खेलाडिको मनोबल उच्च बनाउँदै खेलमा सहभागिता बढाउन तथा नयाँं खेलाडी उत्पादनमा जोड दिने बताईन् ।
खेलकुदले मानिसलाई स्वास्थ राख्न मदत पुग्ने भएकाले यसको संरक्षणमा वडा र नगरपालिकाले बिशेष चासो दिने रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष राम्जी पन्थीले बताए । यो कभर्डहल जिल्लाकै उत्कृष्ट भएको र यसले खेलाडीको खेलमा मनोवल बढ्ने वडाध्यक्ष पन्थीले बताए ।रेसुङ्गा नगरपालिका १ का वडाध्यक्ष तथा गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघ गुल्मीका अध्यक्ष रामप्रसाद पन्थीले कभर्डहल निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन गौरीशंकर सामुदायिक ब्याडमिन्टन संघका सचीव राजु कुवँरले गरेका थिए । कार्यक्रममा खेलाडीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।