साउन ०६,गोर्खा -गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा रहेका करारका कर्मचारी हटाएपछि स्वास्थ्य सेवा बन्द भएको छ । गण्डकी गाउँपालिकाले करारका सबै कर्मचारी हटाएपछि उक्त पालिकामा रहेका १५ वटा स्वास्थ्यचौकी बन्द भएका हुन । प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीलाई उद्धृत गर्दै अन्नपूर्ण पोष्टमा प्रकाशित समाचार अनुसार, अघिल्लो कार्यकालका जनप्रतिनिधिले नियुक्त गरेका ४० जना स्वास्थ्यका कर्मचारीको करार नियुक्ति अहिलेका जनप्रतिनिधिले गत असार ३० गतेको कार्यपालिका बैठकले खारेज गरेका हुन्। बैठकले स्वास्थ्यका ४० सहित अन्य विभिन्न शाखामा नियुक्त ७० जना अस्थायी, करार तथा ज्यालादारी कर्मचारी हटाएको थियो ।साउन १ देखि करार सम्झौता नगर्ने पालिकाको निर्णयले स्वास्थ्य इकाइ, बर्थिङ सेन्टरको सेवा प्रभावित भएको अधिकारीले बताए ‘एउटै वडामा २÷३ वटासम्म स्वास्थ्य इकाइ थिए । अहिले कम्तीमा एउटा छ अरू बन्द छन्’, अधिकारीले भने, ‘एक जना करार कर्मचारीको भरमा सामुदायिक स्वास्थ्य इकाइ चलेका थिए । ती पनि सबै बन्द भए । ‘साउन १ देखि त्यहाँबाट सर्वसाधारण बिरामीले सेवा पाएका छैनन् ।
सामुदायिक स्वास्थ्य इकाइबाट गर्भवती, सुत्केरी, वृद्धवृद्धा, बालबालिकाले सेवा लिंदै आएका थिए । साथै स्वास्थ्य परीक्षण, उपचार सेवा, परिवार नियोजनका अस्थायी साधन वितरण, निःशुल्क औषधि वितरण, बालबालिकाको तौल जाँच, स्वास्थ्य परामर्श सेवा तथा सामान्य प्राथमिक उपचार सेवा पनि घर नजिकको सामुदायिक स्वास्थ्य इकाइबाट सर्वसाधारणले पाउँदै आएका थिए । तर, कर्मचारी अभावमा सेवा बन्द छ ।
गाउँपालिकाभित्रका २५ वटा स्वास्थ्य संस्थामा ६८ जना कर्मचारी कार्यरत रहेकोमा अहिले २८ जना मात्रै छन्। ४० जना कर्मचारीको करार सम्झौता नवीकरण नभएपछि पालिकाभरी स्वास्थ्य सेवा प्रभावित भएको गण्डकी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बेली श्रेष्ठले बताएको समाचारमा उल्लेख छ।