छड्के न्युज डटकम /साउन ०७, गुल्मी – निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीले गुल्मीको रुरु गाउँपालिका बलेटक्सार रिङ्गरोड अन्तर्गतको बलेचौर रानीबासको ७७० मिटर सडक कालोपत्रे अलपत्र परेको छ ।
सडक कालोपत्रेको कामलाई ठेकेदार कम्पनीले वेवास्ता गर्दा स्थानीयलाई आवाजजावतमा समस्या परेको छ । ठेकेदार कम्पनी आत्रय भुसाल बस्नेत जेभीले निर्माण कार्य गर्ने समय सकिदाँ समेत सडक कालोपत्रे नगर्दा अलपत्र परेको हो । निर्माण कम्पनीले कछुवा गतिमा काम गर्दा सम्झौता अवधिमा काम नसक्दा स्थानीय ठेकेदारसँग आक्रोशित बनेका छन् ।
-
रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्सार रिङ्गरोड अन्तर्गतको बलेचौर रानीबासको ७७० मिटर सडक कालोपत्रे गर्न प्रदेश सरकारको एक करोड ३८ लाखमा अर्घाखाँचीको आत्रय भुसाल बस्नेत जेभीले २०७७ माघ ९ गते एक बर्षमा सक्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न गर्न नसकेपछि २०७८ माघ १० गतेदेखि २०७९ बैशाख १० गतेसम्म म्याद थप गरेको थियो । ठेकेदार कम्पनीले एक बर्ष म्याद थप गराए पनि काममा ढिलासुस्ती र मनोमानी गर्दा हालसम्म सबबेस, बेस, नाली, ह्युममपाइप राख्ने काम मात्र गरेको छ ।
सडकको दुर्दशाबाट आजित स्थानीयले ठेकेदारलाई दबाब दिन र सडक कालोपत्रे समयमै गर्न माग गर्दै गत बर्ष सडकमै रोपाई गरेका थिए । विभिन्न बहान बनाएर ठेकेदारले काममा ढिलासुस्ती र सडकमा अव्यबस्थित निर्माण सामग्री राखेर आवाजजावतमै सास्ती दिएको स्थानीय बालकुमारी श्रेष्ठले बताइन् ।
वाल, ह्युमपाइप र सडकको नाली कतै फुटेका छन् कतै साघुँरिएका छन् । निर्माण कम्पनी लाचार बन्दा स्थानीयको घरमा पानी समेत पसेको छ । ठेकेदारले सडकमा प्रयोग गरेका सामग्री गुणस्तरको नभएको र काम समेत कमसल गरेको स्थानीय बताउँछन् । सडक पूर्वाधार कार्यालय र ठेकेदार कम्पनीको मिलेमोतोमा काममा ढिलाई भएको हुनसक्ने स्थानीय बलबहादुर श्रेष्ठ बताउँछन् ।
मात्रै ७८० मिटर सडक कालोपत्रेको जिम्मा पाएको अर्घाखाँचीको आत्रय भुसाल बस्नेत जेभीका सञ्चालकले राजनैतिक आडमा काममा ढिलाई गरेको हुन सक्ने स्थानीयको आरोप छ । निर्माण कम्पनीले सम्झौता गरेको समय गुज्रिसक्दा समेत सडक ग्रावेल र नालीको केहि काम गरेकोे छ भने कालोपत्रेको सुरसार नै भएको छैन् । स्थानीय बर्खामा हिलो र हिउँदमा धुलो व्यहोर्न बाध्य छन् । काममा वेवास्ता गरेपछि निर्माण कम्पनीका २ मेशिन अन्यत्र लैजान आफूहरुले रोक लगाएर सडकमै राखिदिएको स्थानीय पोषराज पौड्याल बताउँछन् ।
सडकको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा समेत परेको छ । आत्रय भुसाल बस्नेत जेभी नामक निर्माण कम्पनी अर्घाखाँचीका आकाश भुसालको नाममा छ । भुसाल सन्धिखर्क नगरपालिका-९ का वडाध्यक्ष पदम भुसालका छोरा भएको खुलेको छ । रानीबास बदेचौर सडकको स्तरोन्नति गर्न स्थानीय बासिन्दाले आफ्नो घर भत्काएका थिए । स्थानीयले देखाएको मानवीय भावनाले ठेकेदारलाई काम गर्न थप सजिलो बनाएको थियो तर निर्माण कम्पनीले बरु स्थानीयसँग दम्भ देखाएको स्थानीय बताउँछन् । काममा ढिलासुस्ती र वेवास्ता गरेपछि स्थानीयले ठेकेदारलाई सम्पर्क गर्दा कहिले फोन उठाउँदैनन् त उठाईहाले उल्टो धम्की दिने गरेको स्थानीय मुक्तप्रसाद श्रेष्ठ बताउँछन् ।
बलेटक्सार रिङ्गरोड अन्तरर्गतको बलेचौर रानीबासको ७ सय ७० मिटर सडकलाई सडक पूर्वाधार विकास कार्यालय गुल्मीले हेरिरहेको छ । सडक कालोपत्रे गर्न बिश्वास पटक पटक स्थानीय सरकारलाई देखाएपनी झारा तिरेर भुक्तानी लिन खोजेको जनप्रतिनिधि बताउँछन् । निर्माण कम्पनीले काम सम्पन्न गर्नुको साटो सडकलाई अस्तव्यस्त बनादिएर नागरिकले सास्ती खेपिरहेको रुरुक्षेत्र गाउँपालिका ४ का वडाअध्यक्ष मोती प्रसाद श्रेष्ठको भनाई छ ।
निर्माण कम्पनीलाई सडक पूर्वाधार विकास कार्यालय गुल्मीले ७ पटकसम्मे कामलाई सम्पन्न गर्न पत्रचार गरेको कार्यलयले जनाएको छ । ठेकेदारले काममा बेवास्ता गरेपछि कार्यलयले रकम समेत निकासा गरेको छैन् । हाल सम्म ठेकेदारले गरेको कामको तथ्याङ्क हेर्दा यो आर्थिक बर्षमा काम सम्पन्न हुने छाटकाट नै नदेखिएको सडक पूर्वाधार कार्यालय प्रमुख सागर मरासिनीले जानकारी दिए । सरकारले असार ३० गतेसम्म संचालनमा रहेका योजनालाई म्याद थप गर्न असार २० गतेको राजपत्रमा समेत सुचना प्रकाशित गरेको थियो ।