मनु सुनार मनसुन/ भदौ २२ , गुल्मी -गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिले प्राध्यापक कर्मचारीबाट स्वेच्छिक अवकासको लागि आशय पत्र माग गरेको छ । गत साउन ३० गते अल्पकालिन समयका लागि रेसुंगा बहुमुखी क्याम्पसको आर्थिक अवस्था कमजोर रहेको भन्दै आर्थिक संकटकाल घोषणा गरेको क्याम्पस सञ्चालक समितिले स्वेच्छिक अवकासको लागि आशय पत्र माग गरेको हो ।
मंगलबार क्याम्पसमा पत्रकार सम्मेलन मार्फत आर्थिक संकटमा चुर्लुम्म डुबेको क्याम्पसलाई बाहिर निकाल्न सबैको सहयोगको आवश्यकता रहेको क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताउनुभयो । उहाँले क्याम्पसलाई आर्थिक संकटबाट बाहिर निकाल्नका लागि तत्कालिन, अल्पकालिन र दिर्घकालिन योजनाहरु बनाएको बताउनुभयो । क्याम्पसमा तत्काल आवश्यकता भन्दा बढी रहेका प्राध्यापक र कर्मचारीहरुलाई स्वेच्छिक अवकास र आवश्यक परे अनिवार्य अवकासको व्यवस्था मिलाइएको अध्यक्ष भलामीले बताउनुभयो ।
इच्छुक प्राध्यापक कर्मचारीहरुबाट स्वेच्छिक अवकासको लागि आशय पत्र माग गरिएको अध्यक्ष भलामीले बताउनुभयो । प्राप्त आशय पत्रमाथि अध्ययन, छानविन गरी तत्काल क्याम्पसलाई अत्यावश्यक नरहेका प्राध्यापक र कर्मचारीहरुको स्वेच्छिक अवकास प्रक्रियालाई अगाडी बढाउने उहाँको भनाई छ ।मौजुदा विद्यार्थी संख्या र प्राध्यापक कर्मचारी संख्याबीच रहेको व्यापक असन्तुलन हटाउनको लागि तत्कालै प्राध्यापक कर्मचारी कटौती गर्नुपर्ने देखिएको छ । आवश्यकताका आधारमा प्राध्यापक र कर्मचारी कटौती गर्ने तयारी रहेको अध्यक्ष भलामीले उल्लेख गर्नुभयो । यो कदमबाट आफू पछि नहटुने समेत दाबी गर्नुभयो ।
सेवारत कर्मचारीहरुले उपयोग गरेका केही सुविधाहरुलाई समेत हाललाई स्थगित गरी आर्थिक सन्तुलन कायम गर्न लागिएको अध्यक्ष भलामीले उल्लेख गर्नुभयो ।“हामीले विगतदेखि नै क्याम्पसको शैक्षिक र आर्थिक अवस्थाको सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौं ।,” अध्यक्ष भलामीले भन्नुभयो, “हालसम्म प्राध्यापक तथा कर्मचारीहरुको विगत ७ महिना देखिको तलबवापतको रु १ करोड ३५ लाख ९९ हजार ४२४ रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ ।” क्याम्पस सञ्चालक बैङ्क खातामा मौज्दात रकम अन्यन्तै न्यून रहेको अध्यक्ष भलामीले बताउनुभयो ।
उहाँका अनुसार २३ लाख ६४ हजार ९ सय ५ क्याम्पस सञ्चालक खातामा रहेको छ । भने अक्षयकोषको लगानी र मुद्दती गरी रु ९६ लाख ६३ हजार २३३ रुपैैयाँ रहेको छ ।क्याम्पस सञ्चालनको मुख्य आम्दानीको श्रोत विद्यार्थीको शुल्क वापत प्राप्त हुने रकम प्राध्यापक कर्मचारीको तलब र क्याम्पस सञ्चालन खर्चको अनुपातमा ऋणात्मक रहेको अध्यक्ष भलामीले बताउनुभयो । उहाँका अनुसार मासिक रुपमा ७ लाख ९१ हजार ७५८ रुपैयाँ तलब भत्ताका लागि अपुग देखिएको छ ।
त्यस्तै, प्राध्यापक कर्मचारीहरुको उपदान उपचार तथा संचित विदा कोषमा संचित मौज्दात रकम र वास्तविक कुल भुक्तानी गर्नुपर्ने रकम बीचको अन्तर ठुलो रहेको उहाँले जानकारी दिनुभयो । प्राध्यापक कर्मचारीहरुको उपदान उपचार कोषमा नियमित जम्मा गर्नुपर्ने रकम हाललाई यहि श्रावण १ गते पश्चात स्थगीत हुने र विभागीय लगायतका सबै प्रकारका अतिरिक्त भत्ता हाललाई स्थगित गर्ने अध्यक्ष भलामीले बताउनुभयो । अध्यक्ष भलामीले सबैसंगको छलफल समन्वय र सहकार्यबाट क्याम्पसलाई छिट्टै आर्थिक संकटमुक्त गर्ने बताउनुभयो ।