गुल्मी – रेसुङ्गा विमानस्थलमा पहिलो डेमोस्ट्रेसन उडान सफल भएको छ । आईतबार गुल्मीको रेसुङ्गा नगरपालिका १० सिमिचौर स्थित रेसुङ्गा विमानस्थलमा तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० जहाजले सफल डेमोस्ट्रेसन उडान गरेको हो । विमानमा गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी,चालक दलका सदस्य सहित १६ जनाको टोलीसहित अवतरण गरेका थिए ।
शिलान्यास भएको १६ बर्षपछि डेमो उडान
वि.सं २०६३ सालदेखी सुरु गरिएकोे रेसुङ्गा बिमानस्थलमा १६ बर्षपछी तारा एयरले सफल डेमो उडान गरेको छ । डेमो उडान सफल भएसंगै बिमान चढेर यात्रा गर्ने गुल्मेली जनता आशा फेरी जाग्न थालेको छ । वि.सं.२०६३ सालमा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप कुमार ज्ञवालीद्धारा शिलान्यास भएको रेसुङ्गा बिमान स्थलमा २०७५ साल जेठ २५ गते तारा एयरको विमानले सफल धुले उडान गरेको थियो । काम सम्पन्न भएलगत्तै वैशाख महिनादेखि नियमित जहाज उडानको प्रतिवद्धता गरेपनि त्यो प्रतिवद्धतामा नै सिमित थियो ।
विमानस्थलमा जहाजको सफल उडान भएसंगै एकातिर विमान चढेर यात्रा गर्ने गुल्मीबासीको सपना पुराहुने र अर्कोतिर गुल्मीको आर्थिक तथा पर्यटन क्षेत्रको विकासले फड्को मार्ने स्थानीय महेश श्रेष्ठले बताए । काठमाडौंबाट उडेको विमान ४५ मिनेटमा गुल्मीको रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । गुल्मीको विमानस्थल निर्माण,रनवे ,टावर र पार्किङ्कको काम राम्रो गरिएको क्यापटेन सन्जीव श्रेष्ठले बताए । क्यापटेन श्रेष्ठले भने यो विमानस्थल सुरक्षित र भरपर्दो देखिएको छ यहाँबाट हप्तामा एक पटक उडान गर्ने सकिन्छ ।
कारोना महामारीका कारण विमानस्थल निर्माणको काममा ढिलाई भएको आयोजनाले जनाएको छ । रेसुङ्गा बिमान स्थल धावनमार्गको ५ सय २० मिटर लम्बाई र चौडाई २० मिटर रहेको छ । बिमानस्थलको पार्किङ्ग ६० मिटर लम्बाई ३० चौडाई रहेको छ । हाल सम्म विमानस्थल निर्माणमा ३२ करोड ९० लाख खर्च भईसकेको छ । यस विमानस्लथवाट नियमित उडानको लागि रेसुङ्गा नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए । रेसुङ्गा बिमानस्थल निर्माणको लागि मुआब्जा दिने गरि १४ घर बस्ति बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरि बिमान स्थल निर्माणको काम थालिएको थियो ।
रेसुङ्गा विमानस्थलमा पहिलो डेमोस्ट्रेसन उडान सफलबारे हेर्नुहोस् गुल्मी सहकर्मी मनोज कार्कीको सहयोगमा एपीवान टेलिभिजनले तयार पारेको भिडियो रिपोर्ट