काठमाडौ – मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरूको नयाँ वर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन अर्थात माघ १ पर्दछ ।
भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन रहेको छ । यसको उदाहरण माघे सङ्क्रान्ति पर्व पनि एक हो । मकर सङ्क्रान्तिको अर्को नाम माघे सङ्क्रान्ति हो । यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन्, मगर समुदायले मुख्य रुपमा धुमधामको साथ् मनाउने यो पर्वलाई माघ्या र सेर्ल्हेस पनि भनिन्छ ।
नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर , लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ । त्यसैले पनि यस दिनको छुट्टै खगोलीय महत्त्व रहेको छ ।
माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सुठुनी, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ । माघे सङ्क्रान्ति आउनुभन्दा एक दुई दिन अगाडि सङ्क्रान्तिको दिनलाई भनेर गाउँघरतिर आफ्नो घरमा भएका गल, बाउसो, खन्ती आदि खन्ने चिजबीज बोकेर नजीकको वनतर्फ लाग्ने मानिसहरूको भिड देख्न पाइन्छ ।यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले अथवा प्रयोग गर्नाले त्यो व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि छ । उक्त दिन नदीका दोभानमा गई शुद्ध भई सिधा दान गर्नाले पुण्य प्राप्त भई रोगब्याधिबाट मुक्त भइने जनविश्वास पनि रहेको छ ।
धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक दृष्टिले पनि माघे सङ्क्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । धार्मिक रूपले यस दिन कुनै मानिसले घर, आँगन र आफ्नो शरीर शुद्ध बनाउन सकेन भने सात जन्मसम्म पनि ऊ निर्धन र रोगी हुन्छ भन्ने मान्यता छ, त्यस्तै वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि यस पर्वमा परम्परा र संस्कार जीवन्त तुल्याउन गरिने सम्पूर्ण कार्यबाट मानिसको सरसफाइ हुने, मौसमअनुरूपका पोषक चिजबीज खाइने तथा निरोगी भइने हुनाले यो सकारात्मक नै देखिन्छ ।
माघेसङ्क्रान्तिलाई हाम्रो देशमा थरिथरिका जनजातीले किसिमकिसिमले मनाउने चलन छ, यस आलेखमा हाम्रो देशका बेग्लाबेग्लै ठाउँमा बसोबास गर्ने भिन्नभिन्न जनजातीसँग रहेको यस पर्वको सम्बन्ध र त्यसले सञ्चरण गर्ने एकता र सद्भावको सन्देशलाई समेट्ने प्रयास गरिएको छ ।तिहारको सेलरोटी, दशैंको मासु भनेजस्तै माघे संक्रान्तिको पनि खास परिकार छ । घिउ, चाकु, तिलको लड्डु, तरुल खाएर मनाइन्छ ।
यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र आदि खाने र दान गरेमा शरीर पोषिलो हुनका साथै निरोगी हुने विश्वास छ ।प्राकृतिले त्यही कुरा, त्यही समयमा उत्पादन गरिदिएको छ, जतिबेला हाम्रो शरीरलाई आवश्यक हुन्छ । यतिबेला तरुल, सख्खरखण्ड, पिँडालु आदि खाने गरिन्छ । यसले शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ । यतिबेला तिलको लड्डु लगायत मिठो परिकार खाइन्छ, जसले शरीरमा जाडोसँग लड्ने क्षमता बढाउँछ ।स्रोत : फैचला न्युज