वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २२ लदाख ५० हजार नगदसहित २ जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरमा चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो ।
घण्टाघर सडक खण्डमा बिआर ०५ ए ई ९३४३ नम्बरको स्कुटरमा सवार २ जनालाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगद फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीका अनुसार पैसासहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ३४ वर्षीय विकाश कुमार साह र वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ ईनर्वा मनियारी निवासी १९ वर्षीय सुवास कुमार साह पक्राउ परेका छन् ।
उनीहरुले प्रयोग गरेको २ थान मोवाइलसहित स्कुटी नियन्त्रण्मा लिई वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकरी दिए ।
पर्सा प्रहरीले यसअघि पुष २५ गते स्रोत नखुलेको करिव १२ लाख रुपैयाँसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ निवासी १९ वर्षीय राजनकुमार साह पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षमा हालसम्म ७ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक पनि छन् । पक्राउ परेकाहरुबाट हालसम्म ९५ लाख ९८ हजार रुपैयाँ बरामद जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत आर्थिक वर्षमा प्रहरीले २२ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो । तीमध्ये १० जना नेपाली र १२ जना भारतीय नागरिक थिए । उनीहरुको साथबाट १ करोड ६५ लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ ।