गुल्मी – निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल गुल्मी जिल्ला कार्य समितिको आयोजनामा एक दिने नेतृत्व विकास तालिम तथा सम्मान कार्यक्रम गरिएको छ । मंगलबार जिल्लाको ऐतिहासिक एवम् धार्मिक स्थल रेसुंगामा अवस्थित पौवा होटलमा एक दिने नेतृत्व विकास तालिम गरिएको संस्थाका अध्यक्ष राजु कुँवरले जानकारी दिए ।
आगामी शैक्षिक शत्रका लागि जिल्ला भरि रहेका संस्थागत विद्यालयको प्रमुख आवश्यकता, नयाँ रणनीति र योजना अवलम्बन गर्ने उद्देश्यले एक दिने नेतृत्व विकास कार्यक्रम गरिएको अध्यक्ष कुँवरको भनाई छ ।
निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याबसन) लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डेले जुनसुकै दलको सरकार आए पनि शिक्षा प्राथमिकतामा नराखेको बताउँदै निजि क्षेत्रलाई वेवास्ता गरेको उल्लेख गरे । “सरकारले असल अभिभावकको दायित्व निर्वाह गर्न सकेको छैन् ।” सरकार सबैको अभिभावक हुनुपर्ने हो ।”उनले भने, “तर सरकारले दायित्व पुरा नगरेको हामीलाई अनुभव भएको छ । पछिल्लो समय निजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुले कोभिडको मार बल्ल खेप्नु परेको छ । तर सरकारले राहतको प्राथमिकतामा राखेन् ।”
सोही अवसरमा प्याबसन गुल्मीका संस्थापक अध्यक्ष दानबहादुर केसी, पूर्व केन्द्रीय सदस्य श्रीप्रसाद भलामी र पूर्व जिल्ला अध्यक्ष भगतसिंह खड्कालाई सम्मान गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले शिक्षाको क्षेत्रमा निजि विद्यालयले योगदान गरी राज्यले गर्ने दायित्व निर्वाह गरेको उल्लेख गरे । तालिममा सहभागीहरुलाई केन्द्रीय प्रशिक्षक लेखनाथ पौडेलले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एन-ब्याप्सनका जिल्ला अध्यक्ष ओमबहादुर टण्डन, शिक्षा विकास तथा समन्वय इकाईका शाखा अधिकृत अम्मर केसि, प्रशासनिक सहायक रामप्रसाद पन्थी, एन-प्याब्सन गुल्मीका सचिव सुनिल बस्नेत लगायतको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष योजन केसीले स्वागत मन्तव्य राख्दै कोभिड पछि बोडिङ्गहरूमा आर्थिक संकट परेको बताए । उनले आर्थिक संकटबाट माथि उठाउन प्याबसनले महत्वपूणर् रुपमा निणर्य गरेर जान आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका कोषाध्यक्ष सन्तोष शर्माले गरेका थिए ।