गुल्मी – क्यान्सर रोगबाट ग्रसित भई उपचाररत मुसिकोट नगरपालिकाका भलिबल खेलाडी बिनोद बि.कको उपचारका लागि समाजसेवी महेन्द्र अधिकारीले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
घाँटीको क्यान्सर पुष्टी भई हाल बि.पि कोईराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचाररत मुसिकोट नगरपालिका वडा नं ५ का बि.कको उपचार सहयोगका लागि सञ्चालित अभियानमा अधिकारीले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
मुसिकोट नगरपालिका वडा न ५ आपचौर निवासी हाल जापानमा कार्यरत , गुल्मेली समाज जापानका अध्यक्ष ,आँपचौर सेवा समिती जापानका निवर्तमान अध्यक्ष एवम् युवा समाजेवी अधिकारीले उक्त सहयोग रकम पठाउनुभएको हो ।
घरको आर्थिक अवस्था निकै कमजोर रहेको र उपचारमा ठुलो खर्च लाग्ने भएपछि अहिले विभिन्न व्यक्तिहरुले उहाँको सहयोगार्थ सहयोग सकंलन अभियान सञ्चालन गरिरहेका छन् ।
खेलाडी बिनोदलाई बचाउने अभियानमा हालसम्म झण्डै २ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग सकंलन भएको मुसिकोट नगरपालिकाका नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिनुभयो । अझै पनि आफुले सक्दो सहयोग गरि बिनोद बि.क बचाउँ अभियानमा सहभागी भई जीवन रक्षा गर्न उहाँले सबैसगं अनुरोध समेत गर्नुभएको छ ।