गुल्मी – गुल्मीको सदरमुकाम तम्घास र जिल्लाभित्रका पर्यटकीय क्षेत्रमा आन्तिरक तथा बाह्य पर्यटकको संख्या बढाउने उदेश्यले गर्जुरामा रेसुंगा पार्क निर्माण गरिएको छ। निमार्ण व्यवसायीले काम सम्पन्न गरे पनि राज्यबाट रकम भुक्तानी नहुदाँ व्यवसायी समस्यामा मात्रै परेका छैनन् पार्क समेत संचालनमा आउन सकेको छैन।
निर्माण व्यावसायीले सम्झौता अगावै रेसुंगा पार्क निर्माणको काम सके पनि राज्यबाट भुक्तानी पाउन सकेको छैन। राज्यले भुक्तानीमा चासो नदिँदा न रेसुंगा पार्क सञ्चालनमा आएको छ। न निर्माण व्यावसायीले राज्यलाई नै हस्तान्तरण गरेको छ। आन्तारिक तथा बाह्य पर्यटकको संख्या बढाएर रेसुगां र तम्घास बजार चहलपहल बढाउने रेसुंगा नगरपालिकाले लक्ष्य लिएको छ। तर पार्क संचालनमा नआउँदा पार्क घुम्न पुगेका पर्यटक प्रवेशद्धारको ताला हेरेर फर्कन बाध्य भएको आन्तारिक पर्यटक मणी पाण्डेले गुनासो गरे।
पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पार्क निर्माण गरिएको हो। पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ। पार्कभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका लागि प्लेजोन, पिकनिक स्पोर्ट, शौचालय, टिकट काउन्टर लगायतका संरचना निर्माण गरिएको छ। जसले पार्कको सौन्र्दयता बढाएको छ। पार्क बनेर त्यसको अवलोकन गर्न नपाएपछी कुनै अर्थ नरहेको राज्यको लगानी दुरुपयोग भएको कतिको आरोप छ ।
रेसुंगा नगरपालिका र धुलिखेल अर्जुन न्यु लिजा जेभीबीच २०७८ कात्तिकमा ५करोड ५९ लाख लागतमा २०७९ चैत सम्म निमार्ण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर कम्पनीले फागुनमै काम सकेको छ। हालसम्म ३ करोड ३० लाख भुक्तानी लिएको छ भने २ करोड २९ लाख भुक्तानी लिन बाँकी रहेको छ। राज्यले भुक्तानी नगर्न सम्म पार्क बन्द र सरकारलाई हस्तान्तरण नगर्ने निर्माण व्यावसायीका प्रतिनिधि बताउँछन्।
राज्यले सम्झौता रकम भुक्तानी नगर्दा पर्यटक पार्क अवलोकनबाट बञ्चित मात्रै भएका छैनन् निर्माण व्यावसायी समेत मारमा परेको छ। निर्माणको काम सम्पन्न भएको महिनौं वितिसक्दा समेत पार्क रेसुगां नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउन सकेको छैन। पर्यटन मन्त्रालयसँग समन्वय गरेको केही दिनमै निर्माण व्यावसायीलाई भुक्तानी गरेर पार्कको सञ्चालन गर्ने रेसुगां नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।