बसन्त अधिकारी, गुल्मी:
मुसिकोट नगरपालिका गुल्मीले प्रत्येक महिना सबै वडामा घुम्टी स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।हरेक महिना सबै वडामा २/२ दिन घुम्टि स्वास्थ्य शिविर गर्ने नगरपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।
फाल्गुण २९ गते मुसिकोट नगरपालिकाद्वारा प्रकाशित सुचनामा प्रत्येक महिनाको १ र १५ गते मुसिकोट १ को सिम्ले हेल्थ हट, २ र १६ गते मुसिकोट २ को रात्चौर हेल्थ हट, ४ र १८ गते मुसिकोट ३ को भराह हेल्थ हट, ५ र १९ गते क्रमस मुसिकोट ४ बल्लेघाट हेल्थ हट र थजाङ हेल्थ हट, ६ र २० गते मुसिकोट ५ खर्वाङ, ८ र २४ गते क्रमस मुसिकोट ६ कुर्घा हेल्थ हट र स्वारा हेल्थ हट, ९ र १३ गते मुसिकोट ८ मालारानी हेल्थ हट साथै १२ र १५ गते मुसिकोट ९ ददल्का हेल्थ हटमा घुम्टी स्वास्थ्य शिविर संचालन गरिने जानकारी दिईएको छ ।
नागरिकहरुलाई स्वास्थ्यको पहुँचबाट अझ नजिक बनाउन प्रत्येक वडामा स्वास्थ्य शिविर गर्न लागिएको जसमा समन्धित वडामा रहेका स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीहरु र नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मीहरुले सेवाग्राहीको चेकजाँच तथा स्वास्थ्य परामर्श प्रदान गर्ने नगर स्वास्थ्य शाखा प्रमुख डि. बि. जि. सी. ले बताउनु भयो ।
प्रत्येक वडामा भएका स्वास्थ्य चौकीबाट हरेक दिन निशुल्क उपचार र परामर्श साथै आवश्यक औषधि वितरण भैरहेको तर क्षेत्रका हिसाबले स्वास्थ्यचौकीसम्म आउन अप्ठ्यारो हुने नागरिकलाई घुम्टी स्वास्थ्य शिविरले लाभ दिने लक्ष्यका साथ संचालन गरिएको जनस्वास्थ्य निरीक्षक पुष्कर गौतम बताउनु भयो ।