वामी विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिको आयोजनामा प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको चौँथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेलाको यही कार्तिक ३ र ४ गते हुने भएको छ ।
मुसिकोट नगरपालिकाको वडा नं ७ वामीटक्सार बजारमा उक्त कार्यक्रम गर्न लागिएको आयोजकले बुधबार होटल दरबार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
पुराना मौलिक, कला संस्कृतीलाई जीवन्त राख्दै नयाँ पुस्तालाई पुस्तानान्तरण गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको नौमती सांस्कृतिक समितिका वरिष्ठ सल्लाहकार राम बहादुर केसीले जानकारी दिनुभयो ।
कार्यक्रममा नौमती बाजा प्रतियोगिता, नौमती बाजामा नृत्य प्रतियोगीता, रेकर्ड डान्स प्रतियोगीता, शंखवादन प्रतियोगीता, लोक दोहोरी गायन प्रस्तुती, विभिन्न स्थानीय संस्कृती झल्किने झाँकीहरु, महिला समुहको नौमती बाजा, विद्यार्थी समुहको बाजा तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती समेत रहने नौमती सास्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझीले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय उत्पादनहरुका स्टल, नेवारी खानाका परिकारहरुको स्टल, हराउँदै गएका लुठ्ठे र चर्खे पिङ समेत आकर्षणको रुपमा रहने पत्रकार सम्मेलनको क्रममा जानकारी गराईएको थियो । त्यस्तै सो अवसरमा गीतसंगीत तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउनुहुने अग्रज स्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान र विशिष्ट संरक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताईएको छ ।
कार्यक्रममा मालारानीको ठाडो भाका, वामी मैदानको सोरठी नृत्य, संस्कार जागरण समुहको भजन, नेवार समुदायको महत्वपूर्ण लाखेनाच/जात्रा झाँकी, पल्टार बँसेरी कुमाल समुदायको हिम्फै नृत्य, बडागाउको सरायँ नाच लगायतका यस क्षेत्रका विभिन्न स्थानीय संस्कृतीहरु समेत प्रदर्शन हुनेछन् । कार्यक्रममा राष्ट्रिय कलाकारहरु अर्जुन सापकोटा, रामचन्द्र चन्द लगायतका कलाकारहरुको बजोड सांगीतिक प्रस्तुती रहनेछ ।
कार्यक्रम सम्पन्न गर्नका लागि मूल समितिको मातहतमा रहने गरी १३ वटा विभिन्न उपसमितिहरु समेत गठन गरिएको प्रवक्ता विवेक काफ्लेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । समितिका अध्यक्ष बैकुण्ठ रायमाझीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन प्रवक्ता विवेक काफ्लेले गर्नुभएको थियो ।
यसभन्दा अगाडी २०७१ सालमा पहिलो, २०७५ सालमा दोश्रो, वि.स. २०७९ सालमा तेश्रो महोत्सव सम्पन्न गरिसकेको छ भने २०८० मा मुसिकोट युवा क्लब र नौमती सास्कृतिक समितिको संयुक्त आयोजनामा सरायनाच महोत्सब सम्पन्न गरिसकेको छ ।