गुल्मी, अक्टोबर १२ — देशभरका लायन्स तथा रोटरी क्लबहरूको संयुक्त सहभागितामा सञ्चालित आठ सत्रको जनचेतनामूलक श्रृंखला The Cancer Talk शनिबार सम्पन्न भएको छ। सन् २०२५ को अगस्ट १ देखि अक्टोबर ११ सम्म प्रत्येक शनिबार प्रसारण गरिएको यस कार्यक्रमले क्यान्सरसम्बन्धी ज्ञान फैलाउने, चुपचाप लडिरहेका जीवन योद्धाहरूको संघर्ष उजागर गर्ने, र सामाजिक सहकार्यको भावना प्रवर्द्धन गर्ने उद्देश्य बोकेको थियो।
कार्यक्रमको संयोजन लियो–लायन डा. शुभम कुमार अग्रवालले गर्नुभएको हो। पेशाले चिकित्सक रहनुभएका डा. अग्रवाल सम्पूर्ण श्रृंखलामा एकल प्रस्तोताको रूपमा प्रस्तुत हुनुहुन्थ्यो। विषयवस्तु चयनदेखि तथ्य विश्लेषण र जनमानसमा प्रभाव पार्ने शैलीसम्म, उहाँको योगदान उल्लेखनीय रह्यो।
लायन्स क्लब अफ बुटवल सेन्ट्रलको तर्फबाट लायन बिष्णु कुँवरले संस्थागत समन्वय, प्रचारप्रसार र प्रसारण व्यवस्थापनमा संयोजनात्मक भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ लायन्स डिस्ट्रीक ३२५पि का डिस्ट्रीक एडभाइजर हुनुहुन्छ साथै क्लबको मार्केटिङ्ग चेयरपर्सनको जिम्मेवारी पनि सम्हालिरहनु भएको छ।
श्रृंखलामा समेटिएका विषयहरूमा क्यान्सरको परिचय, फोक्सो, मुख, स्तन, पाठेघर, मस्तिष्क, रक्त तथा प्रोस्टेट क्यान्सर समावेश थिए। डा. अग्रवालले प्रत्येक सत्रमा तथ्य, अनुभव र उपचारका सम्भावनाहरू प्रस्तुत गर्नुभएको थियो। पुरुषहरूमा फोक्सो, मुख र प्रोस्टेट क्यान्सर, महिलाहरूमा स्तन र पाठेघरको क्यान्सर, तथा बालबालिकामा मस्तिष्क र रक्त क्यान्सर बढी देखिने तथ्यहरू उजागर गरिए।
कार्यक्रममा सहभागी क्लबहरूमा लायन्स क्लब अफ बुटवल सेन्ट्रल, इटहरी एक्टिभ, धरान घोपा युनाइटेड, विराटनगर, इनोभेटिभ, गोग्राहा, डाइनो, काठमाडौं आबद्ध, पावर, दीर्घजीवी, डायनामिक सर्भर तथा रोटरी क्लब अफ विराटनगर सेन्ट्रल रहेका थिए।
कार्यक्रमका सबै सत्रहरू लायन्स क्लब अफ बुटवल सेन्ट्रलको फेसबुक पेज facebook.com/share/17cQq7F4s2 मा उपलब्ध छन्। जनचेतनामूलक भिडियो सन्देशहरू अन्य सामाजिक सञ्जालहरूबाट पनि प्रशारण गरिएका थिए, जसले अभियानको सन्देशलाई अझ धेरै जना दर्शकवर्गमा पुर्याउन सहयोग गरेको लायन बिष्णु कुँवरले जानकारी दिनुभयो।