१५ कात्तिक, गुल्मी । हरिबोधनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गामा विशेष मेला तथा पूजा–अर्चनाका लागि भक्तजनहरूको ठूलो भीड लागेको छ ।
प्रत्येक वर्षझैं यस वर्ष पनि हरिबोधनी एकादशीको दिन दिन रेसुङ्गा धाममा मेला लाग्नुका साथै स्नान र पूजा गर्न श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको रेसुङ्गा क्षेत्रमा बिहानैदेखि भक्तजनहरू पूजा–अर्चना र मेला अवलोकनका लागि पुगेका छन् ।

यही कारणले रेसुङ्गा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मानिन्छ । रेसुङ्गा क्षेत्रको उच्च भूभागबाट धवलागिरिदेखि मनास्लुसम्मका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
यो क्षेत्र विद्यार्थीहरूका लागि शैक्षिक भ्रमण, होमस्टे र ग्रामीण पर्यटनका दृष्टिले पनि उपयुक्त मानिन्छ । यस मन्दिरमा दैनिकी रूपमा पूजा–अर्चना हुने गर्छ भने साउन महिनाभर मेला लाग्ने गर्दछ। साथै औंसी, ठूला एकादशी लगायत पर्वहरूमा ठूलो मेला लाग्ने परम्परा रहिआएको छ ।
सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको यात्रापछि रेसुङ्गा पुग्न सकिन्छ । हाल सडक कालोपत्रे भएकाले रेसुङ्गा पुग्न सजिलो भएको छ ।
मेलामा सहभागी मनिषा रानाका अनुसार रेसुङ्गा पहिलेभन्दा अझ सुन्दर बनेको बताइन । यहाँका मन्दिरहरूसँगै पैदलमार्गहरू पनि चिटिक्क पारिएकाले सुन्दर बनेको उनले बताइन् ।
ऋषिशृङ्गेश्वर, यदुकानन्द, रामचन्द्र लगायत अनेक ऋषि–महर्षिहरूले तपस्या गरेको स्थल भएकाले रेसुङ्गाको धार्मिक महत्त्व धेरै वेद–पुराणमा उल्लेख पाइन्छ । द्वापरयुगदेखि नै सिद्ध स्थल मानिएको रेसुङ्गा विभिन्न युगहरू पार गर्दै अहिले सुन्दर, पुण्यभूमिका रूपमा स्थापित भएको छ ।
ऋष्यशृङ्गले तपस्या गरेको स्थानमा ब्रह्मचारी तदर्थानन्दले विगत धेरै वर्षदेखि केवल काँचो आहार ग्रहण गर्दै तपस्या गरिरहेका छन् । समुन्द्री सतहबाट करिब २,३४० मिटर उचाइमा अवस्थित रेसुङ्गा धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा जैविक विविधताले सम्पन्न क्षेत्र हो ।
यहाँ २५८ प्रजातिका चराहरू, लोपोन्मुख गिद्ध, चितुवा, मृग, घोरल, खरायो लगायतका वन्यजन्तु पाइन्छन् । रेसुङ्गाको उच्च भागबाट धवलागिरिदेखि मनास्लुसम्मका हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।
यहाँको हावापानी शीतल छ । हिउँदमा कहिलेकाहीँ हिमपात हुने र गर्मी याममा वातावरण अत्यन्त मनोरम रहने गर्दछ । जिल्लाको प्रमुख केन्द्र तम्घास रेसुङ्गाकै काखमा रहेको छ ।
प्राकृतिक, धार्मिक, ऐतिहासिक र पौराणिक विशेषताले सम्पन्न रेसुङ्गा वास्तवमै गुल्मीको गौरव हो ।
यसैबीच हरिबोधनी एकादशीको अवसरमा गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा समेत ऋषिकेश उत्सव तथा धार्मिक मेला लाग्ने परम्परा रहिआएको छ ।
#अनलाईन खवर

