छड्के न्युज, गुल्मी \गुल्मीको मदाने गाउँपालिकामा अबस्थित कङ्के देउरालीको संरक्षणमा स्थानिय सरकारले चाँसो देखाएको छ । आन्तारिक तथा पर्यटकिय गन्तब्यको रुपमा परिचित बन्दै आएको कङ्के देउरालीको विकासका लागि स्थानिय सरकारले मुख्य केन्द्र बिन्दु बनाएर अगाडि बढेको हो ।कङ्के देउरालीमा पुगेपछि अर्घाखाँची ,प्युठान, पाल्पा,रोल्पा, बाग्लुङ्ग र पर्वत लगायतका जिल्लाको अबलोकन गर्न सकिन्छ । यस क्षेत्रमा रहेको मन्दिरमा भाकल गरेमा सबै मनोकाङ्क्षा पुरा हुने धार्मिक बिश्वास रही आएको छ ।
त्यस क्षेत्रमा मदाने गाउँपालिकाका स्थानियहरुले नयाँबाली चढाई खाने, गाईको दुधले धार दिने गर्दछन् । कङ्के देउराली ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।यस क्षेत्रमा घुम्न तथा प्राकृतिक आनन्द लिनको लागि गुल्मी लगायत आसपासका जिल्लाबाट आन्तारिक तथा बाह्रय पर्यटकहरु आउने गर्दछन् । कङ्के देउराली प्राकृतिक रुपमा मात्रै नभई धार्मिक र पर्यटकीय रुपमा प्रख्यात ठाउँ भएकाले यसको दिनप्रतिदिन महत्व बढ्दै गएको मदाने गाउँपालिका वडा नं ६ डढुवाका रेम्बो घर्तिले बताए ।कङ्के देउराली क्षेत्रमा क्षेत्रमा बिभिन्न प्रजातिका जडिबुटी तथा बनस्पिति पनि पाइने गर्दछन् ।
कङ्के देउराली क्षेत्रमा बिशेष गरी सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकील लगायतका जडीबुटीहरु पाइने गर्दछन् । कङ्के देउरालीमा बनस्पतिको रुपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, धुपीसल्ला लगायतका वनस्पतीहरु प्रशस्त पाइने गर्दछन् ।
कङ्के देउरालीमा आवाज जावात गर्न सडक, मन्दिर र आर्कषक सिँडी निर्माण लगायतका संरचना निर्माणको काम गाउँपालिकाले गरिरहेको छ । यस ठाउँमा भ्यू टावरको निर्माण गरेर देउरालीकोे चारैतिर प्रचारप्रसार गरी आन्तारिक तथा बाह्रय पर्यटक भित्राएर एक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्ने तयारीमा रहेको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानाकारी दिईन् । गाउँपालिका उपाध्यक्ष खड्काका अनुसार धार्मिक तथा पर्यटकिय गन्तब्यको रुपमा परिचित बन्दै आएको कङ्के देउरालीलाई गाउँपालिकाले दिगो बिकास र संरक्षण गर्न सकेमा आम्दानीको मुख्य स्रोत कङ्के देउराली बन्न सक्ने उनको भनाई छ ।