दाङ । लुम्बिनी प्रदेशकी सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको निजी तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ ।बस्नेत स्वयम्को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो ।तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् ।
विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ । तस्बिरले उनीहरूबीच विवाह भइसकेको चर्चालाई बल पुर्याएको छ ।विमला एमालेका तत्कालीन सांसद स्वर्गीय उत्तरकुमार वलीकी पत्नी हुन् । उत्तरको दुर्घटनामा निधन भएपछि उनलाई श्रीमानकै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियो । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बनेकी थिइन् ।
लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा छिन् । उनी माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो ।यसअघि बस्नेतसँगको घनिष्ट सम्बन्धकै कारण विमला माओवादीको सम्पर्कमा पुगेको र उनले ऋण तिर्न पैसा लिएको बताइएको थियो ।वाईसीएल कार्यकर्ता बस्नेत भने उक्त तस्बिर कसरी आफ्नो फेसबुकमा देखियो भन्नेमा अनभिज्ञता दर्शाउँछन् ।
उनले भने, ‘यो तस्बिर कसरी मेरो फेसवुकमा पोस्ट भयो, मलाई नै थाहा छैन । यसबारेमा भेटेर कुरा गरौंला ।’उनले आफूहरूबीच बिहे भएको वा नभएको बारे प्रष्ट बताउन चाहेनन् ।वाईसीएल नेता बस्नेत अविवाहित हुन् । उनको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर अहिले हटाइएको छ ।यस विषयमा सांसद वलीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आइनन् । हाम्रो पटकपटकको प्रयास सफल हुन सकेन । साभार : सुधाकुरा