कला लम्साल नेपाली लोक दोहोरी क्षेत्रमा परिचित नाम हो । उनले गाएका सबै गीत उत्तिकै चर्चामा छन् ।
आफ्नो सुमधुर आवाजले दर्शक श्रोताको मन जित्न सफल गायिका लम्साललाई बढी स्टेजमा व्यस्त हुने गायिकाको रुपमा चिनिन्छ । तर कोरोना महामारी र यसको नियन्त्रणका लागि पटकपटक हुँदै आएका बन्दले एक वर्षदेखि यता कलाले स्टेज टेकेकी छैनन् ।
भन्छिन्, ‘देश तथा विदेशका कार्यक्रममा व्यस्त हुने समय हो यो तर कोरोना महामारीका कारण एक वर्ष धेरै भयो स्टेज टेक्न नपाएको । विस्तारै यो महामारी हटेर जाने छ र फेरि उहिँ माहोल बन्ने छ भन्ने विस्वास र प्रतिक्षामा छु । ’
तनहुँकी कला सानैदेखि गीत गाउथिन् । तर उनलाई परिवारमा छोरी मान्छेले गीत गाउन हुँदैन यो क्षेत्रमा लाग्ने होइन भनेर भनिन्थ्यो । परिवारको अनुमति बिनै गायन पेशालाई अंगालेकी कलालाई अहिले भने पुरा साथ र सहयोग छ परिवारको ।
‘बाहुनकी छोरी भएर गीत गाउँदे हिँड्न हुन्न’ भनेर घरपरिवारबाट उनलाई धेरै पटक रोकतोक पनि भयो । ‘कति पटक मैले अब गाउदिन भनेर केही समयका लागि विश्राम पनि लिएँ,’ उनले भनिन्, ’तर, कुनै लोकदोहोरी प्रतियोगिता आयोजना हुँदैछ भन्ने सुनेपछि आफूलाई रोक्नै सक्दिनथेँ ।’
सानैदेखि गायिका बन्ने सपना बोकेकी कलाले आफ्नो त्यो सपना पुरा गर्न घरपरिवार र आफन्तसँग एक प्रकारको विद्रोह नै गर्न परेको सम्झिन्छिन् ।
कक्षा १२ सम्मको पढाई तनहुँमा सकेर ब्याचलर पढ्न र संगै गायन पेशालाई पनि सुरु गर्न कला ०६५ सालमा काठमाडौं आइन् पहिलो गीत ‘मर्न पाए खुशी हुन्थे म’ पनि ०६५ मै बजारमा ल्याइन् । यो गीतमा उनलाई गायक खुमन अधिकारीले साथ दिएका थिए ।
काठमाडौं आइसकेपछि कलाले दुई वर्षजति लोकदोहोरी साँझमा पनि काम गरिन् । दोहोरी साँझमा कलाले आफ्नो स्वरलाई माझ्ने अवसर पाएको बताउँछिन् ।
‘मर्न पाए खुशी हुन्थे म’ पछि कलाले गायक तेजस रेग्मीसँग रोइला भाकामा ‘चुच्चे–चुच्चे रहिछौ’ गीत गाइन् । जुन गीतले कलाको कलालाई दर्शकश्रोता माझ चिनायो ।
कलाको बद्री पंगेनी र चन्द्र शर्मासँग संयुक्त स्वरमा आएको गीत धानको चामल ‘धानैको चिउरा‘’ पनि निकै सफल भयो । त्यसपछि पुस्कल शर्मामा ‘मुसुमुसु हाँस‘’ गीत ल्याइन् । गायिका कलाको हालसम्म ‘लाहुेर आएन’, ‘फुलको डाली, ‘यही दोहोरी साँझमा’, ‘ठिक्क पार्छौं मुखले’ सहित तीन दर्जन बढी गीतहरू बजारमा आइसकेकी छन् । उनको यो वर्ष ‘पातली–३ (झिल्के भेना)’ बोलको तीज गीत बजारमा छ ।
गायिकाको रूपमा कलाले नेपाल प्रहरीमा पनि सेवा गरिसकेकी छन् । नेपाल पुलिस क्लब भृकुटी मण्डपमा रहेर उनले कलाकारको रूपमा केहि वर्ष बिताइन् । यतिबेला भने उनले प्रहरी सेवाबाट राजिनामा दिएकी छन् । अब नितान्त गायन यात्रालाई अघि बढाउन आफूले प्रहरी सेवा छाडेको उनले बताइन् ।
प्रायः गण्डकी भेकको मौलिक लोकदोहोरी भाका गाउनु कलाको परिचय हो । लोक भाकासँगै उनले राष्ट्रिय गीत पनि गाएकी छन् ।
राष्ट्रिय गीत तराई आँगनबाट उनले उत्कृष्ट गायिकाको रूपमा राप्ती म्युजिक अवार्ड र अवार्ड राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिले आयोजना गरेको पाँचौं पृथ्वी अवार्ड पनि जितेकी हुन् । आठ वटा देशमा पुगेर कलाले आफ्नो कला देखाइसकेकि छिन् ।