गुल्मी -जिल्लाको छत्रकोट गाउँपालिकाले ३१ जना कृषकलाई मासिक एक हजारका दरले कृषक पेन्सन (प्रोत्साहन भत्ता)प्रदान गरेको छ । बार्षिक तीन लाख ४० हजार रुपैयाँ भन्दा बढी आम्दामी गर्ने कृषकलाई पालिकाले तयार गरेको कार्यबिधिको आधारमा ३१ जना क बर्गका किसानलाई मासिक एक हजारका दरले प्रोत्साहन भत्ता प्रदान गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुन्यप्रसाद पौडेलले जानकारी दिए ।
गत असार २२ गतेको गाउँसभाको बैठकले ३१ जना कृषकहरुलाई छनोट गरी प्रोत्साहन स्वरुप भत्ता प्रदान गर्ने निर्णय गरिएकाले असार महिनाको मासिक एक हजारका दरले प्रदान गरिएको हो । जसअनुसार वडा नम्बर १ का ९ जना ,२ का ३ जना ,३ का ९ जना , ४ का ८ जना,५ का २ जना कृषक क बर्गमा छनोट भएका हुन् । गाउँपालिकाका बिभिन्न वडामा गरी करिब दूई सय भन्दा बढी कृषकहरुले ब्यबसायीक रुपमा कृषि तथा पशुपालन गर्दै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका आशिंक कृषकहरुले समय अनुसारको कृषि तथा पशुपालन गर्दै आएका छन् । छत्रकोट गाउँपालिका वडा नम्वर एक हुँगाका कृषक दानबादुर पल्लीले गाउँपालिको सुरु गरेको कृषक पेन्सन तथा प्रोत्सान भत्ताले कृषकरुलाई प्रोत्साहन मिलेको बताए ।
यता गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले कृषकहरुको आयआर्जनमा बृद्धि गर्न , कृषि र पशुपालनको माध्यमबाट आत्म निर्भर बनाउनका लागि कृषक पेन्सन अर्थात प्रोत्सान भत्ताको कार्यक्रम लागु गरिएको जानकारी दिए । चालु आर्थिक बर्षमा अधिकाशं क बर्गका किसानलाई पेन्सन अर्थात प्रोत्साहन भत्ता दिने गाउँपालिकाको योजना रहेको गाउँपालिकाले जनाएको छ । साभार: रुरु एफएम