काठमाडौँ । नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ को पहिलो चरणका विजेता छनोट भएका छन्। डिजिटल भोटिङ प्रक्रियाअनुसार पहिलो चरणका नौजना विजेता छनोट भएका हुन् ।
दुई साताअघि सम्पन्न पहिलो चरणमा सहभागी प्रतिस्पर्धीमध्ये गायन, नृत्य र अभिनय गरी तीन विधा प्रत्येकबाट तीन–तीनजना विजेता छनोट भएको आयोजकले जनाएको छ। त्यसैगरी गत शुक्रबार र शनिबार सम्पन्न दोस्रो चरणमा सहभागी प्रतिस्पर्धीलाई भदौ २८ सम्म भोट दिन पाइन्छ।
आयोजकका अनुसार पहिलो चरणमा गायत विधाबाट विराटनगरकी मनिषा पोखरेल, बुटवलका राजेश गन्धर्व र बोलबजारका अभिषेक बराइली छनोट भएका छन्। त्यस्तै नृत्य विधाबाट काठमाडौंकी रमा विश्वकर्मा, विराटनगरका बिक्की घिमिरे र विराटनगरकी नविना रोक्का छनोट भएका छन् । त्यसैगरी अभिनय विधाबाट पोखराका दिपेश लामिछाने, जनकपुरधामका सुदिप पटेल र काठमाडौंका प्रभात पाल ठकुरी छनोट भएका छन् ।
भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा यो रियालिटी शो सञ्चालन भइरहेको छ ।
यो रियालिटी शो नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट शो प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नाइस टेलिभिजन एचडीमा प्रशारण हुँदै आएको छ । आयोजकले नाइस टेलिभिजन एचडी स्याटेलाइट टिभीबाट नेट टिभी, डिस होम, प्रभु टिभी, मेरो टिभी र क्लियर टिभीमा प्रशारण भईरहेको जानकारी दिएका छन् ।
काइजेन इन्कका कार्यकारी अधिकृत सुष्मा मानन्धरले विजेता तथा प्रतिस्पर्धीले उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरू समेत प्राप्त गर्ने जानकारी दिइन् ।
आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) को एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा हरेक चरणमा तीनवटै विधाका दुई–दुई अलग सेलिब्रिटी निर्णायक रहनेछन्। यस्ता दिग्गज सेलिब्रिटी निर्णायक भएको यो पहिलो कार्यक्रम हो ।
टि सिरिज जस्तो भारतकै ठूलामध्ये पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा आयोजना भइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले विश्वास व्यक्त गरेका छन् ।
यो ट्यालेन्ट हन्टमा छात्रवृत्ति जितेर भारत पढ्न जाने विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने उच्च सम्भावना रहेको कुरामा डिजी पेका प्रबन्ध निर्देशक पाण्डे विश्वस्त छन् । भारतको मनोरन्जन उद्योग मा अग्रणी स्थान अोगटेको टि सिरिजका नृत्य, गायन, अभिनयलगायत उत्पादनमा टि सिरिज स्टेज वर्क्सका होनहार विद्यार्थीहरूलाई मौका दिने गरिन्छ। त्यसैले यो प्रतियोगिताको नारा ‘टिकेट टु बलिउड’ रहेको कुरा पनि पाण्डे ले बताए ।