झापा, २० भदौ- झापाको दमकदेखि इलामको चिसापानी हुँदै पाँचथरको रविसम्म पुग्ने सडक निर्माण चर्चाको तीन दशक हुन लाग्यो । तीन दशकअघि सडकको ट्र्याक खोल्ने काम सुरु गरिए पनि अझैसम्म यहाँका स्थानीयलाई सास्ती उस्तै छ ।
२०५० सालपछि मेची राजमार्गको विकल्पको रूपमा निर्माण सुरु गरिएको दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग)को ट्र्याक २८ वर्षपछि खोलियो । अहिले कालोपत्रेका लागि ठेक्का पनि लगाइएको छ । तर, निर्माण कम्पनीले काम ढिलो गर्दा बर्खामा बाटो बन्द हुन्छ । यस राजमार्गलाई मेची राजमार्गको विकल्पको रूपमा मसेत चर्चा गरिँदै आएको छ ।
दमक हुँदै इलामको माङ्सेबुङ, चिसापानी र पाँचथरको रवि ४४ किलोमिटरको यात्रामा पुगिन्छ । तर, सडक समयमा कालोपत्रे नहुँदा स्थानीयका दुःख सधैँ उस्तै छन् । बर्खा लागेपछि कि त यो बाटोको विकल्प खोज्नुपर्छ वा पैदल यात्रा गरेर दमकसम्म आउनुपर्छ ।
केही दिनअघि पाँचथरको रविका विक्रम राई यही सडकमा पैदल यात्रा गरेर दमक आउँदै गरेका भेटिए । बर्खामा आएको पानीले बाटो बिग्रिएका कारण सवारी नचल्दा हिँडेरै दमक आउनुपरेको उनले बताए । ‘काम हुँदै छ भन्छन् । बर्खामा गाडी आउन सक्दैन । दिनभर हिँडेर आइपुगेँ’, उनले भने, ‘सडक नबन्दा सास्ती त कति छ कति । ४४ किलोमिटरको बाटोमा बर्खामा त माङ्सेबुङबाट दानाबारी हुँदै बिर्तामोड निस्किएर दमक आउँदा १५० किलोमिटभन्दा लामो दूरी गाडी चढ्नुपर्छ । भाडा पनि महँगो छ । त्यही भएर हिँडेरै आएँ ।’
विगतमा हिउँदमा रतुवा खोलै खोला भएर गाडी गुड्थे । बर्खामा रोकिने गरेको छ । तर, अहिले हिउँदमा खोलाको बाटो भएर हिँड्नुपर्ने बाध्यता हटेको छ । झण्डै तीन दशकमा सडकको ट्र्याक खुलेको छ । ठाउँ-ठाउँमा पुल बनेको छ । तर, सडक कालोपत्रे नहुँदा बर्खामा यात्रा नै गर्न मुस्किल हुने चिसापानीका दिलीप लिम्बू बताउँछन् । ‘बर्खामा त हिँड्ने मात्र हो । गाडी त चल्दैन । तर, विगतको तुलनामा काम त केही भएकै छ’, उनी भन्छन्, ‘तर, बाटो पिच नहुँदा हिँड्नचाहिँ सकिँदैन । पिच गर्ने भन्छन् तर कहिल्यै गर्दैनन् ।’
सरकारले चिसापानीसम्मको कालोपत्रेका लागि तीन चरणमा ठेक्का लगाएको छ । पहिलो खण्डको सात किलोमिटर सडक कालोपत्रेको म्याद सकिएको छ । तर, अहिलेसम्म निर्माण भएको छैन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै खण्डको सडक एकै पटक ४ फागुन २०७६ मा शिलान्यास गरे, जबकि पहिलो पहिलो खण्ड ठेक्का लागेको १७ महिना भइसकेको थियो ।
सडक डिभिजन कार्यालय दमकका अनुसार काम सकिनुपर्ने मिति गत पुसमै सकियो । त्यसपछि भदौसम्मका लागि समय थपिएको छ । तर, यो समयमा पनि ५० प्रतिशत मात्र काम भएको सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेलले जानकारी दिए । अहिले पनि समय थप्ने योजनाका साथ ठेकेदार कम्पनी अघि बढेको छ । यो सडक निर्माणको जिम्मा महालक्ष्मी-किरातेश्वर जेभीले ३० महिनाभित्र सक्ने गरी २९ साउन २०७५ मा २२ करोड ५९ लाख ६४ हजार ६२७ रुपैयाँमा ठेक्का लिएको थियो । तर, समय सकिँदा पनि ७०० मिटर सडक मात्र कालोपत्रे भएको पौडेलले जानकारी दिए ।
यस्तै, अन्य दुई खण्डको काम पनि सन्तोषजनक नभएको सडक डिभिजनले जनाएको छ । दोस्रो खण्ड १५ किलोमिटर र तेस्रो ११ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लागेको छ । दुवै सडक कालोपत्रेको जिम्मा लुम्बिनी गणपति जेभीले पाएको छ । दोस्रो र तेस्रो खण्ड सडक कालोपत्रे गर्ने काम २ फागुन २०७६ मा ठेक्का लागेको हो । दोस्रो ५४ करोड ४४ लाख ८७ हजार ६४० रुपैयाँ र तेस्रो ५९ करोड १५ लाख ३५ हजार २३४ रुपैयाँमा ठेक्का लागेको हो । यो दुई खण्डको काम २ फागुन २०७९ मा सक्नुपर्नेछ । यसको काम करिब ३० प्रतिशत मात्र सम्पन्न भएको र काम सन्तोषजनक नभएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
दमक-चिसापानी सडक निर्माण उपभोक्ता समिति चयनका लागि निकै ठूलो खर्च गरेर दलहरू यसको चुनावमा होमिन्छन् । राजनीतिक दलले यसलाई प्रतिष्ठाको लडाइँको रूपमा पनि लिँदै आएको छ । तर, विगतमा उपभोक्ता समितिले कामै गर्न सकेको थिएन । पछिल्लो समय गगन पुरीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ । यो उपभोक्ता समितिको म्याद सकिएको पनि लामो समय भयो । तर, अर्को उपभोक्ता समिति बन्न सकेको छैन । यो समितिले ट्र्याक खोल्ने, विभिन्न ठाउँमा पुल लगाउने र कालोपत्रेको ठेक्का लगाउने काम गरेको छ । यद्यपि, नागरिकले सहज यात्रा गर्न पाएका छैनन् ।
उनीहरूले सधैँ सास्ती व्यहोरिरहेका छन् । चाँडै नै नागरिकले सहजै यात्रा गर्ने गरी बाटो निर्माण हुने उपभोक्ता समिति अध्यक्ष पुरीले बताए । ‘निर्माण कम्पनीले ढिलाइ गरेकfमा हामी पनि सन्तुष्ट छैनौँ’, उनले भने, ‘ठेकेदार कम्पनीलाई छिटो गर्न दबाब दिइरहेका छौँ । चाँडै नागरिकले सहज यात्रा गर्न पाउँछन् ।’
सडक राम्रो नहुँदा यात्राका क्रममा दुर्घटनामा परेर एक जना जनप्रतिनिधिले ज्यान गुमाए । माङ्सेबुङ- ४ का वडासदस्य धनबहादुर राईको गत ३० असारमा यही सडकमा दुर्घटनामा ज्यान गएको माङ्सेबुङ- ४ का वडाध्यक्ष अमृतबहादुर राईले जानकारी दिए । हिलो बाटोमा राम्रो ठाउँ खोज्दै मोटरसाइकल चलाउने क्रममा सेते भिरबाट खस्दा ज्यान गुमाएको उनले बताए । यो ठाउँ पहिलो खण्डमा पर्छ ।
‘समयमा काम भएको भए यो ठाउँ गत पुसमा पक्की हुने थियो । वडा सदस्यले ज्यान पनि गुमाउनु पर्ने थिएन’, उनले भने, ‘हामीले दबाब दिँदा पनि काम साह्रै ढिलो गरे । काम गराइ हेर्दा अझै काम गर्छन् जस्तो लाग्दैन ।’ साभार : न्युज कारखाना