लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा मलेसिया गएका गोबिन्द लामो समयसम्म परिवारसँग सम्पर्कमा आएनन् ।
३ र ५ बर्षका दुई छोरा छोडेर सम्पर्कहिन बनेका उनकी श्रीमती यही पिरले बितिन् । बैदेशिक रोजगारीमा गएको शुरुवाती समय र अन्ततिर गोविन्द सम्पर्कमा त आए तर त्यसबेला उनलाई असाध्य बिमारले च्यापिसकेको थियो । उनलाई पेनाङका नेपालीको सहयोगमा नेपाल पठाउन एयरपोर्ट पुर्याईयो ।
दुर्भाग्य, एयरपोर्ट पुग्नासाथ उनी बेहोस भएर ढले । फर्काएर अस्पताल भर्ना गरियो । तर, तिनदिन पछि गोविन्दले पराई भुमीमा नै प्राण त्याग गरे । गोविन्दका कान्छा छोरा डेल्सन काठमाडौमा सामान्य रोजगारी गर्छन् । जनउद्धार केन्द्र, मलेसियाका साथीहरुले डेल्सनलाई सम्पर्क गरेर सोधे -‘लास नेपाल लाने कि यतै सद्गती गर्ने ?’
जिवनमा बाबुको अनुहार समेत नदेखेका उनले भने- ‘लामो समयसम्म सम्पर्कहिन हुनुभयो । त्यही पिरले मम्मीपनी बित्नु भो । मलाई त बाबुको अनुहारपनि याद छैन । १९ बर्षसम्म कहाँ, के गर्नुभो, के समस्या पर्यो । कसरी बिरामी पर्नु भो, केही थाहा छैन । तर जे भएपनी जन्मदिने बाबू हुन् , एकपटक अनुहार हेर्न पाए हुन्थ्यो !’
तर, लास ल्याउन सक्ने डेल्सनको आर्थिक अवस्था थिएन । उनलाई फुपुहरुले सहयोग गरिरहेका थिए । जिन्दगीमा कहिल्यै बाबुको अनुहार प्रतक्ष देख्न नपाएको छोराले एकपटक अनुहार हेर्ने अन्तर ईच्छालाई अन्तत: जनउद्धार केन्द्र मलेसिया र अन्य समाजसेवीले पूरा गरिदिनु भयो ।
परदेशमा गुमनाम रहेको एउटा नेपालीको लास अर्को नेपालीको सहयोगमा आज नेपाल आईपुग्यो । छोराले बाबुको अनुहार हेरे । आफ्नैभुमीमा सद्गती गर्न पाए । यसकालागी जनउद्धार केन्द्र, केशु थापा, सुनिल श्रेष्ठ, बिरस पुन, देवेन्द्र गृ लगायत धन्यबादको पात्र छन् । यो अभियानको निरन्तरको सारथि हुन पाउँदा हामी पनि खुसी छौँ ।
तर, परदेशमा कंक्रिटका जङ्गल, जङ्गलका गल्ली र गल्लीका कुना, भित्तामा कति गोविन्दहरु गुमनाम बाँचिरहेका हाेलान् ! देशका कुना काप्चामा कति श्रीमती र सन्तानहरु बाबु फर्कने बाटो कुर्दै बसेका होलान् ! बैदेशिक रोजगारीमा गएका तर घर परिवारबाट सम्पर्कहिन भएकाहरुको सुची मन्त्रालय, बिभाग, दुताबास वा बोर्ड सँग हाेला कि नहोला !gajurel.com