असोज ३, काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रू. १०० अंकित दरका रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।
निष्कासन गरिने कुल कित्तामध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा आवेदकले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।( आर्थिक अभियान दैनिक )