प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्राप्ताङ्कबारे जानकारी दिनुभएको थियो । यस नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ मा स्व–मूल्याङ्कनको एक सय पूर्णाङ्कमा कुल ७२.२५ प्रतिशत अङ्क प्राप्त गरेको मरासिनीले जानकारी दिनुभयो । प्राप्त अङ्कलाई आधार मान्दा रेसुङ्गा नगरपालिकाको नजिता बिशिष्ट नै रहेको मरासिनीको भनाई छ । केही विषय क्षेत्रमा सुधारको खाँचो रहेको उहाँको भनाई छ ।
भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण सरंक्षण तथा विपद व्यवस्थापनमा केही प्रक्रियागत कुरामा कमी भएकाले सुधारका कार्ययोजना निर्माण गरी सुधारका कार्यक्रम अगाडी बढाएको मरासिनीले बताउनुभयो ।
वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भरत भलामीले विपद् व्यवस्थापन सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार रेसुङ्गा नगरपालिकामा कोरोना संक्रमितको संख्या ८९६ रहेको छ । संक्रमणका कारण जिल्लाभित्र, जिल्ला बाहिरका अस्पताल, होम आइसोलेशन र देश बाहिर गरि हालसम्म रेसुङ्गा नगरपालिकाका २८ जनाको मृत्यु भएको छ ।
यस नगरपालिकामा ३१ हजार ६२० जनसंख्या रहेकोमा १८ वर्ष भन्दा माथि उमेर समूहको जनसंख्या १८ हजार ४ सय ७४ रहेको छ । जसमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ७ हजार ३ सय २ जनाले प्राप्त गरेका छन् । आशिंक खोप ८ हजार ८ सय १२ जनाले प्राप्त गरेका छन् । अब ९ हजार ६ सय ३५ जनाले कोरोना विरुद्धको खोप पाउन बाँकी रहेको छ । सबैको सामुहिक प्रयासबाट महामारी र भू–क्षय न्यूनिकरण गर्न निरन्तर प्रयास गरिरहेको भलामीको प्रतिवेदनमा उल्लेख छ ।
नगरसभामा उपप्रमुख सीता भण्डारीले चालु आर्थिक वर्ष ०७८÷७९ को विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो । नगरसभा अध्यक्ष एवम् नगर प्रमुख डिल्लीराज भुसालले रेसुङ्गा नगरपालिकाको चालु आर्थिक वर्ष ०७८÷७९ को विनियोजन विधेयक निर्णायार्थ प्रस्तुत गर्नुभएकोमा नगरसभाका सदस्यहरुले सर्वसहमतिका साथ पास गर्नुभएको थियो । ( रेडियो रेसुङ्गा )