विद्यालयहरुमा कोरोना भाइरस संक्रमणको दर बढ्ने जोखिम रहेकोले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, राष्ट्रिय अनुसन्धान विभाग गुल्मीका प्रमुख दिनेश पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्य, जिल्ला शिक्षा तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनी, रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख बिष्णु ज्ञवालीसहितको समूहले सदरमुकामस्थित सिद्धबाबा माध्यमिक विद्यालय र महेन्द्र नमुना माध्यमिक विद्यालयको अनुगमन गरेको हो ।अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सबै विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अध्यापन गराउनुपर्ने बताएका थिए । विद्यालयहरुमा कोरोना भाइरसको संक्रमण दर बढिरहेकोले सबै विद्यार्थीहरुले अनिवार्य मास्क लगाउनुपर्ने, साबुनपानीले राम्रोसँग हात धुनुपर्ने र सबै विद्यार्थीहरुलाई शिक्षकले राम्रोसँग स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्ध जानकारी दिने जस्ताकुराहरुमा विद्यालयहरुको अनिवार्य ध्यान जान आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले विद्यालयका शिक्षकसँग भनेका थिए ।गुल्मी जिल्लाका सबै विद्यालयहरुमा स्थानीय तहसँग समन्वय गरि स्वास्थ्य सुरक्षाका मापदण्डका सम्बन्धमा अनिवार्य जानकारी दिन पनि प्रमुख जिल्ला अधिकारी पौडेलले स्वास्थ्य कार्यालय गुल्मीलाई निर्देशन दिएका थिए ।विद्यार्थी र शिक्षकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अध्ययन र अध्यापनमा जोड दिनुपर्ने उनले प्रतिक्रिया दिए ।
विद्यालय अनुगमनको क्रममा सिद्धबाबा माध्यमिक विद्यालयले अनुरोध गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले अमलाको बिरुवा समेत रोपेका थिए । उनले सदरमुकामका विद्यालयहरु व्यवस्थित भएको र अझै व्यवस्थित गराउन आग्रह गरेका थिए । स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले सदरमुकाममा स्कुल बस संचालन गर्दा व्यवस्थित तरिकाले संचालन गर्न निर्देशन दिएका थिए ।गएको ४ दिनमा रुरु गाउँपालिकामा शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण दर निरन्तर बढिरहेको छ । शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि रुरुक्षेत्र गाउँपालिकाका ३ वटा विद्यालय बन्द गरिएको छ ।विद्यार्थीहरु सूचनाको संबाहक भएकोले विद्यार्थी मार्फत घरघरमा सूचना पुराएर सबैलाई मास्क अनिवार्य, साबुनपानीले हात धुन अनिवार्य र भौतिक दूरी कायम गर्न अनिवार्य गरेर कोरोना भाइरसबाट सबै बच्ने अनुगमनको मुख्य उद्देश्य रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताएका थिए । प्रमुख जिल्ला अधिकारी पौडेलले गाउँगाउँका विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डको बिषयमा स्वास्थ्यकर्मी र शिक्षकहरुले अनिवार्य जानकारी गराउन निर्देशन दिएका छन् ।