मङ्सिर २७,गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजारमा विद्युतका नयाँ पोलमा एबिसि केबल स्थानान्तरणको कार्य सुरु गरेको छ । मङ्गलबार तम्घासको पुतलीबजार देखि विद्युतका नयाँ पोलमा एबिसि केबल स्थानान्तरण सुरु गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरण गुल्मीले अहिले नयाँ पोलमा एबिसि केबल स्थानान्तरण गर्न सुरु गरेको हो । एक हप्ता भित्र सम्पन्न गर्ने गरी बजार क्षेत्रमा गाडिएका नयाँ ५३ वटा विद्युतका पोलहरुमा एबिसि केबल स्थानान्तरण सुरु गरिएको हो ।
यस अघि बजार क्षेत्रमा आठ मिटर अग्ला विद्युतका पोल थिए । अहिले पुराना पोललाई हटाएर एघार मिटर अग्ला स्टीलका पोल गाडिएको छ । सोही पोलमा नयाँ विद्युतका तारहरु स्थानान्तरण गर्न सुरु गरिएको नगरप्रमुख पन्थीले जानकारी दिनुभयो ।
यहाँ रहेका नेपाल टेलिकम, विभिन्न नेट–इन्टरनेट कम्पनीहरुले पनि फाइबर तार विद्युतकै पोलमा भुण्डाएर सेवा दिइरहेका छन् । साघँुरो बजार क्षेत्रमा रहेका विद्युतका पोलमा लथालिङ्ग रुपमा झुण्डाएका टेलिकम, केबुल र नेटका तारहरुका कारण तम्घास बजारको सुन्दरता कुरुप भएको भन्दै व्यवस्थित गर्न लागिएको नगरप्रमुख पन्थीको भनाई छ । अहिले नेपाल विद्युत प्राधिकरणले नयाँ पोलमा तार स्थानान्तरण गर्न सुरु गरेको छ । होचा पोल त्यसै माथि मालबाहक ट्रकहरुले अत्याधिक सामान बोक्ने गर्दा तारहरुमा छुने समस्या समेत हुँदै आएको थियो ।
साथै होचा पोलका कारण घरको छतबाट समेत तारलाई सहजै छुने अवस्था भएका कारण करेन्ट लाग्ने जोखिम समेत रहदैं आएको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रामप्रसाद पन्थीले बताउनुभयो । विद्युत प्राधिकरण,नेपाल टेलिकम र नेट इन्टरनेटका सेवा प्रदायक निकाय सबैले अन्तर समन्वयमा टेलिकम, केबुल र नेटका तारहरू व्यवस्थित गर्ने सहमति समेत गरिएको छ ।
विद्युतको तार स्थानान्तरण गरे लगत्तै नेपाल टेलिकम तथा विभिन्न केबुल र अन्य नेट–इन्टरनेटका तारहरु व्यवस्थापन गरिनेछ । उनीहरुसँग संयुक्त रुपमा छलफल गरि अव्यवस्थित पोलमा झुण्डाईएका तारहरुलाई व्यवस्थित गर्ने सहमति समेत गरिएको थियो । नगरपालिकालाई समृद्ध र सुन्दर बनाउन गैरसरकारी संस्थासँग समन्वय गरी काम गर्न नगरपालिका तयार रहेको रहेको समेत पन्थीले बताउनुभयो ।