काठमाडौं । दिन प्रतिदिन नयाँनयाँ उचाईमा पुगेको नेपाल स्टक एक्सचेञ्जले आज साढे २९ सय माथि पुगेर नयाँ रेकर्ड बनाएको छ। अहिले नेप्सेमा रौनकता छाएको अवस्था छ । नेप्सेमा कम मूल्य भएका कम्पनीहरु मर्जरमा जाने हल्ला चलेपछि नेप्से बढेको अनुमान लगानी कर्ताहरुले गरेका छन् ।
अर्कोतर्फ, लिक्डाउनका कारण लगानी गर्ने अन्य क्षेत्रहरु ठप्प हुँदा सेयर बजारमा लगानीकर्ता आएको अनुमान गर्न सकिन्छ । लगानी गर्न अन्य धेरै क्षेत्रहरु कोरोना भाइरसको कारण बन्द रहेका छन् । नेपाल सरकारको, जेठ १५ गतेको बजेट भाषण र हालसालै नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षाले पनि सेयर बजारमा उत्साह थपेको छ ।
जेठ महिनामा, नेप्सले नयाँनयाँ रेकर्ड बनाउँदै आएको छ। सेयर बजारका कारोबार रकममा आएको उछालबाट नेप्से परिसूचक अझै बढ्ने भविष्यवाणी गर्न सकिन्छ। कहिलेकाहीँ बजारमा सामान्य करेक्शन देखिएपनि नेप्से इन्डेक्स अझैनयाँ उचाइमा पुग्ने सेयर विज्ञहरु बताउछन्।
यस हप्ताको पहिलो कारोबार दिन नेप्सेमा १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ भने नेप्से २९८३.११ अंकमा बन्द भएको हो ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.३२ अंकले बढेर हालसम्मकै उच्च बिन्दु २९८३.११ अंकमा बन्द भएको छ । यसअघि मंगलबार नेप्से परिसूचक २९६०.१४ अकंमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड आज ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।
यसैगरी, कारोबार रकममा पनि उछाल आएको छ । आइतबार दिनभरि २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार कित्ता शेयर; १ लाख ८२ हजार पटक किनबेच हुँदा १९ अर्ब ५५ करोड १ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपैयाँको उच्च कारोबार रेकर्ड बनाएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आइतबार नयाँ रेकर्ड बनाएको हो ।