रमेश पराजुली/ शाखा अधिकृत,नेपाल सरकार–मेरो जन्म पर्वत जिल्ला, रानीपानी गाविस बिहादीमा भएको हो । म जन्मेर घरमा सबैभन्दा पहिला हिँड्ने सन्तति हुँ रे ! तर अफसोच !
एक वर्षको हुँदा दुवै खुट्टामा पोलियो रोग लाग्यो । आफ्नै खुट्टाको सहाराले हिँड्ने रहर त्यही २–३ महिनामा सीमित हुन पुग्यो ।त्यसयता कि त अरूको सहारामा, कि त बैसाखीको सहारामा, कि त ह्विलचियरको सहायतामा हिँडिरहेको छु । एसएलसीसम्मको पढाइ नवलपरासीको गैँडाकोटबाट गरेँ ।
कक्षा ११ र १२ विज्ञान विषयमा नेसनल इन्टिग्रेटेड कलेज, डिल्लीबजारबाट पास गरेँ । मेरो रुचि कम्प्युटर साइन्स पढ्ने वा मेडिकल डाक्टर बन्ने थियो । तर, घरबाट समर्थन भएन ।
रसायन शास्त्र प्रमुख विषय लिई स्नातक तथा स्नातकोत्तर (केन्द्रीय रसायन शास्त्र विभाग) उच्च डिभिजनमा उत्तीर्ण गरेँ ।म जीवनमा धेरै कम पटक दोस्रो भएको छु । पढाइमा मात्र होइन, स्कुलमा हुने विभिन्न बौद्धिक क्रियाकलापमा पनि म प्रायः प्रथम हुन्थेँ ।
लोकसेवाप्रतिको आकर्षण
ठूलो दाजु लोकसेवा पास गरेर स्वास्थ्य सेवातर्फ उप–स्वास्थ्यचौकीमा अहेव इन्चार्ज हुनुभयो । त्यही वेला हो, मैले पहिलोपटक लोकसेवा भन्ने सुनेको ।
स्नातकोत्तर पढ्न दिदी–भिनाजुसँग कीर्तिपुर बस्थेँ । दिदी–भिनाजुको नयाँबजारमा पुस्तक तथा स्टेसनरी पसल थियो । फुर्सदको समयमा त्यो पसलमा बस्थेँ ।सबैले लोकसेवाको पुस्तक किन्ने, पढ्ने गरेको देख्दा मलाई लोकसेवाप्रति आकर्षण बढेको हो ।
लोकसेवाको तयारी
मेरो लोकसेवाको तयारी निकै छोटो भयो । मुस्किलले पाँच महिना तयारी गरेँ । आजसम्म मैले ट्युसन पढेको छैन ।त्यसकारण लोकसेवाका तयारी कक्षा त जाँदै गइनँ । स्नातकोत्तरको शोधकार्य चल्दै गर्दा मैले सहायक रसायनविद् (प्राविधिक नासु)को जाँच दिएको थिएँ ।
जम्मा ५० पूर्णांकको परीक्षामा मैले बल्लतल्ल ४२ वटा प्रश्नको उत्तर मिलाएको थिएँ । तर, धेरै जनाले सम्पूर्ण ५० प्रश्नकै सही उत्तर दिएको भन्दै थिए । मैले आशा मारेको थिएँ ।
त्यसपछि लगातार पाँच महिनाबीच नासु (अप्राविधिक) र शाखा अधिकृतको परीक्षा दिएँ । सबैभन्दा पहिले सहायक रसायनविद्को नतिजा आयो ।मेरो नाम दुई नम्बरमा सिफारिस भई पुरातत्व विभागमा नियुक्ति दिइएको थियो । मैले प्रशासनतर्फ शाखा अधिकृतका लागि पनि लोकसेवा परीक्षा दिएको थिएँ ।
मंसिरमा अधिकृतको नतिजा प्रकाशित भयो । म ८९ नम्बरमा सिफारिस भएँ । त्यो दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन हो ।आजसम्मको जागिरे अनुभव ज्यादै सुखद छ । मैले निजामती सेवामा प्रवेश गरेपछि धेरै खालको स्वतन्त्रताको अनुभव गरेको छु । धेरै नयाँ साथीहरू, नौलो ज्ञान हासिल गर्ने मौका पाएको छु ।
मेरो पढ्ने शैली
मेरो पढ्ने शैली त्यस्तो भिन्न छैन । सुरुमा एकचोटि आद्योपान्त पढ्ने गर्छु, जसले गर्दा किताबमाथिको एक प्रकारको विहंगम दृष्टिकोण प्राप्ति हुन्छ ।
त्यसपछि प्रत्येक पेज, प्रत्येक अनुच्छेद, प्रत्येक हरफ गहिरिएर पढ्छु । महत्वपूर्ण कुरा टिपोट गर्छु । प्रत्येक कुरा इन्टरनेट, जानकार वा अन्यसँगसमेत पुनर्पुष्टि गर्छु ।मैले जम्मा एउटा प्रथम पत्रको किताब, एउटा द्वितीय, एउटा तृतीय अनि एउटा चतुर्थ पत्रको किताब किनेको थिएँ ।
धेरै किताब थुपारेर धेरै जानिन्छ भन्ने लाग्दैन । म थोरै पढ्छु, तर गहिरिएर पढ्छु । बुँदागत टिपोट गर्छु । र, नहेरी ती बुँदा लेख्न कोसिस गर्छु ।म हरफ–हरफ घोक्न सक्दिनँ । हरेक अनुच्छेदका महत्वपूर्ण शब्द मात्रै घोकेर बाँकी आफ्नै शैलीमा लेख्ने मेरो बानी छ ।
जागिरे अनुभव
आजसम्मको जागिरे अनुभव ज्यादै सुखद छ । मैले निजामती सेवामा प्रवेश गरेपछि धेरै खालको स्वतन्त्रताको अनुभव गरेको छु । धेरै नयाँ साथीहरू, नौलो ज्ञान हासिल गर्ने मौका पाएको छु ।
अवसरका विकल्प अनि त्यसका आयाममा हुने बढोत्तरीले जीवनलाई बुझ्ने छुट्टै धरातल उपलब्ध गराउँदो रहेछ । निजामती सेवा प्रवेशले जीवनको महत्वपूर्ण अस्तित्वको ज्ञान हुँदै गर्दा सामाजिक पहिचान वृद्धि भएको महसुस गरेको छु । (साभार: फेयर नेपाल )