रुपन्देही । गुल्मी जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका दुई प्रभावशाली नेताहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्ट नेकपा एमालेकोको मूल धारमै रहेपछि यहाँबाट माधव नेपालको एकीकृत समाजवादी पार्टीमा जाने निकै कम हुने भएका छन् ।माधव नेपाल पक्षका भनेर चिनिएका नेता गोकर्ण विष्ट एमालै रहेपछि यहाँको निर्वाचन क्षेत्र नम्बर दुईका अधिकांश नेता, कार्यकर्तासँगै जनप्रतिनिधिहरु पनि एमालेमै रहेका छन् ।नेकपा एमालेले गुल्मीका ८ स्थानीय तह जितेको छ । यसअघि केही जनप्रतिनिधि दुवैतिर नखुली बसेका थिए । गुल्मीका दुई शीर्ष नेता प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एकै ठाउँमा भएपछि खुल्न नसकेका जनप्रतिनिधिलाई पनि अब सजिलो भएको छ ।
गुल्मीमा नेपाल समूहको समानान्तर कमिटी अध्यक्षमा रहेका मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले आफूहरु पार्टीभित्र अन्तरसंघर्षमा रहेपनि विभाजनको पक्षमा नलागेको बताए । ‘पार्टीभित्र हाम्रा असहमति थिए, हामीले त्यहीं बसेर विरोध गरेका थियौं, अहिले पनि चित्त नबुझेका विषय भित्रै बसेर छलफल गर्ने हो, विभाजनलाई साथ दिन सकिएन’, सापकोटाले भने, ‘एमालेले जितेका ८ पालिकामध्ये ७ वटामा हामी अन्तरसंघर्ष गर्ने समूहकै थियौं, अहिले सामूहिक निर्णय त गरेका छैनौं तर विभाजनको पक्षमा नजाने करिब सहमति भएको छ ।’
प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा प्रत्यक्षतर्फका दुवै सिट, प्रदेश सभाका ४ वटै सिट नेकपाले जितेको थियो । गुल्मी क्षेत्र नं। १ मा प्रदीप ज्ञवालीको क्षेत्र हो भने क्षेत्र नं २ पूर्वमन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो ।२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादीसँग समीकरण गरेर निर्वाचनमा जाँदा ज्ञवालीले ८ हजार मतान्तरले कांग्रेसका नेता चन्द्र भण्डारीलाई पराजित गरेका थिए भने विष्टले १५ हजारको मतान्तरमा विपक्षी कांग्रेसका चन्द्र केसीलाई पराजित गरेका थिए ।
सांसदहरु को–कता ?
गुल्मीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जितेका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट हुन् । ज्ञवाली र विष्ट दुवै एमालेमै छन् । त्यसैगरी प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने मैना भण्डारी एमालेमै छन् भने गुल्मीबाटै राजनीतिमा स्थापित भएकी रामकुमारी झाँक्री नेपाल समूहमा खुलेर लागेकी छन् ।गुल्मीबाट लुम्बिनी प्रदेशसभामा प्रत्यक्षमा ४ र समानुपातिकमा १ गरी ५ जनाले प्रतिनिधित्व गरेका थिए । निर्वाचनको समयमा माधव नेपाल समूहमा रहेका गुल्मी क्षेत्र नं। १ बाट प्रदेशसभामा निर्वाचित कमलराज श्रेष्ठ अहिले संस्थापन समूहमा लागेका छन् ।एमालेबाटै जिल्लाको क्षेत्र नं २ बाट प्रदेशसभामा निर्वाचित खड्ग केसी र माओवादीबाट प्रदेशसभामा निर्वाचित दिनेश पन्थी एमालेमै रहेका छन् ।एमालेमा लागकै कारण दिनेश पन्थीलाई माओवादीले संसदबाट पदमुक्त गरेको छ । प्रदेशसभामा गुल्मीबाट सुदर्शन बराल प्रत्यक्षमा र समानुपातिकतर्फ गीता थापा माओवादी केन्द्रमा रहेका छन् । उनीहरु दुवै पूर्वमाओवादी नै हुन् ।
स्थानीय तहका जनप्रतिनिधि एमालेमै
१२ वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा एमालेबाट प्रमुख उपप्रमुख विजयी भएका थिए । नेता गोकर्ण विष्टले पार्टी विभाजनमा नेता नेपाललाई साथ नदिएपछि नेपाल पक्षमा लागेकाजनप्रतिनिधि एमालेमै रोकिएका छन् ।जिल्लाको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थ र उपप्रमुख नर्मदा भण्डारी पहिलेदेखि नै खुलेर ओली समूहमा लागे पनि धेरैजसो पर्ख र हेरको नीतिमा थिए ।
मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा नेपाल समूहको समानान्तर कमिटीमा रहेपनि उनी स्वयं एमालेमा रहेपछि र नेता विष्टसँगै नेपाल समूहमै रहेका जनप्रतिनिधि एमालेमै रहने भएका हुन् ।एमालेका दुवै प्रभावशाली नेता एमालेमै रहेपछि नेता कार्यकर्ता र जनप्रतिनिधिलाई सजिलो भएको एमाले नेता हरि पोखरेल बताउँछन् ।
गुल्मीका पुराना नेता शेषकान्त गौतम दुवै प्रभावशाली नेताहरु एकै ठाउँमा देखिँदा एमाले बलियोजस्तो देखिएपनि आन्तरिक समूह को–कता भने सबैको नखुलेको बताउँछन् । ‘अहिले ठ्याक्कै को, कता भन्ने खुलेका अवस्था त छैन, तर दुई नेता एकै ठाउँमा रहँदा धेरैलाई आफ्नो कित्ता खोल्न सहज होला, तर पहिले नै समूह बनाएका नेताहरु मिल्दा सबै मिल्छन् भन्ने नहुनसक्छ’, उनले भने ।एमाले उपाध्यक्ष वामदेव गौतमको एकता अभियानको केन्द्रीय सदस्य रहेका उनले वामदेवले जता साथ दियो उतै रहने मनस्थिति बनाएका छन् । रुपन्देहीबाट नेपाल प्रेस अनलाइन पत्रिकाको लागी रामप्रसाद आर्चायले लेख्नु भएको छ ।