कात्तिक १४ गुल्मी – अहिले राजनीतिमा युवा पुस्ताको खोजिभइरहेको छ । एमालेको वडा र पालिका अधिवेशन भइरहेको छ । कांग्रेसले केही समयअघि गर्यो । माओवादी केन्द्रले पनि अधिवेशनहरू गरिरहेको छ । केन्द्रदेखि जिल्ला र वडासम्म राजनीति नेतृत्व युवाहरूलाई हुनुपर्ने माग विभिन्न फोरम र सामाजिक सञ्जालहरूमा कार्यकर्ताहरूले गरिरहेका छन् ।
गुल्मी एमालेले युवालाई राजनैतिक नेतृत्व हस्तान्तरणको नयाँ अभ्यास सुरु गरेको छ । वडा र पालिकामा थुप्रै युवाहरूको प्रवेश देखिएको छ । उनीहरूलाई अरु पार्टीका नेता र कार्यकर्ताले समेत प्रशंसा गरेका छन् ।
नेकपा एमाले इस्मा गाउँकमिटीका अध्यक्ष राजेन्द्र विक्रम कुँवर हुनुभयो । उहाँले निर्वाचनबाटै प्रत्यासी बिनबहादुर गौतम र नारायण पैयानीलाई भारी मतान्तरले पराजित गर्नुभयो । कुँवर ३१ वर्षका हुनुहुन्छ । प्रत्यासी पुराना अनुहार हुन् । कमिटीका सबैभन्दा कान्छा नविन अर्यालले नै १५५ मतमध्ये १२७ मत प्राप्त गरेर उपसचिव हुनुभयो । सचिवमा गनुप्रसाद अधिकारी, उपसचिव कल्पना अधिकारी पनि युवा नै हुन् ।
त्यस्तै मालिका गाउँ कमिटीको अध्यक्षमा ओमबहादुर कार्की निर्वाचित हुनुभयो । उहाँसहितका सबै पदाधिकारी सर्वसम्मत चयन हुनुभएको हो । कार्कीसहितका सबै ३० देखि ४० वर्ष उमेर समुहका छन् ।
मदाने गाउँ कमिटीको अध्यक्षमा प्रेम केसी निर्वाचित हुनुभयो। केसीसहितका सबै पदाधिकारीहरू युवा छन् । एमाले मदाने गाउँकमिटी सर्वसम्मत निर्वाचित भएको हो । कालिगण्डकी गाउँ कमिटीको अध्यक्षमा रामजी ढकाल निर्वाचित हुनुभयो। मुसिकोट र रेसुंगा नगर कमिटीले पनि युवाकै नेतृत्व पाएको छ । मुसिकोटमा प्रकाश काफ्ले र रेसुंगामा हरिप्रसाद पोख्रेल अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
नेकपा एमाले गुल्मीले जिल्लाका ११ स्थानीय तहका कमिटीको अधिवेशन सम्पन्न गरेको छ । मुसिकोट र रेसुंगा नगरकमिटी, इस्मा, मदाने, मालिका, गुल्मी दरवार, छत्रकोट, रूरू क्षेत्र, सत्यवती, चन्द्रकोट र कालिगण्डकी गाउँ कमिटीको अधिवेशन सकिएको छ । धुर्कोट गाउँपालिकामा शनिबार नेतृत्व चयनको प्रयास सुरु भएको छ । ११ स्थानीय तहमध्ये इस्मा गाउँ कमिटीको लागि निर्वाचन भएको छ । भने १० स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला सचिव सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।(जनताटाइम्स )