दोलखा -लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत दोलखा प्रवेश गर्ने मुख्य मार्ग मुडे–चरिकोट खण्ड ठेक्का लगाएर वर्षौँदेखि अलपत्र पारेको भन्दै जिल्लावासीले विरोध गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव र सडक विभागका महानिर्देशकको तस्बिर सार्वजनिक सवारीमा टाँसेर जिल्लावासीले विरोध जनाएका हुन् ।मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटो सार्वजनिक सवारीसाधनमा टाँसेर विरोध प्रदर्शन गरेका छन् ।
देशमा कानुन नै नभए जसरी वर्षौंदेखि सडक अलपत्र पारेर नागरिकलाई सास्ती दिइएको मुडे–चरिकोट सडक संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए । नागरिकले वर्षौँदेखि सास्ती खेप्दासमेत राज्यको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेर बसेका व्यक्तिहरू कानमा तेल हालेर बस्दा सडक अलपत्र पारेकाले उनीहरूको फोटो टाँसेर विरोध गर्न बाध्य भएको उनले बताए सुनाए ।
एक्जिम बैंक अफ इन्डियाको सहयोगमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी सडक विभागले उक्त सडक २०७२ मा ठेक्का लगाएको थियो । तर, करिब ६ वर्ष बित्दासमेत सडक अलपत्र अवस्थामा छ । संघर्ष समितिले यसअघि निर्माण व्यवसायीको फोटो टाँस्नेदेखि शंख फुक्ने, एक रुपैयाँ चन्दा उठाएर सरकारलाई पठाउनेजस्ता थुप्रै सांकेतिक विरोधका गतिविधि गरिसकेको छ। तर, पनि सडक विभागले भने कुनै कारबाही अघि नबढाएको संघर्ष समितिले जनाएको छ।(नयाँ पत्रिका)