सागर भण्डारी, गुल्मी : श्रीमान र छोराको मृत्युपछि बेसहारा बनेकी मुसिकोटकी एकआमालाई सहयोग हस्तान्तरण गरिएको छ । श्रीमान र छोरा दुबैको निधन पछि आर्थिक अभावसगैं बेसहारा बनेकी मुसिकोट नगरपालिका वडा नं २ निवासी डल्ली परियारलाई सहयोग हस्तान्तरण गरिएको हो ।
छोराको ७ वर्ष अगाडी भीरबाट लडेर मृत्यु भएपछि बुहारी समेत ३ बालबच्चा छोडेर अन्तै पोईला हिँडेपछि डल्लीलाई कमाएर दिने कोही छैन् । उनको विहान बेलुका छाक टार्न समेत मुस्किल अवस्था रहेको छ ।
आफैले पनि केही गर्न नक्सने ७५ वर्षीय परियार अहिले तिनै मृतक छोराका २ नाति र १ नातिनी सगैं बस्दै आएकी छिन् । घरमा दैनिक जीवनयापनमा समेत कठिनाई भईरहेको अवस्थामा ती ससाना बालबालिकाहरुको पठन पाठनमा समेत समस्या भईरहेको थियो ।
डल्ली परियारको यो अवस्थाका बारेमा जिटिभी नेपालका सञ्चालक सञ्चारकर्मी दिपक नेपालीले सघंर्षका कथा मार्फत भिडियो बनाएर युटुबमा राखेपछि सकंलित रकमबाट सहयोग स्वरुप खाद्यान्न, लत्ताकपडा र स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको हो । उक्त भिडियो हेरेपछि हाल अमेरीकामा रहनुभएका सहयोगी मनका धनी लिल बहादुर थापाले ३५ हजार रुपैयाँ सहयोग गनुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष लक्ष्मण खत्रीले सहयोगी थापा र परियारको अवस्थाको बारेमा रिपोर्टिङ गर्ने सञ्चारकर्मी नेपालीप्रति आभार व्यक्त गर्नुभयो । उहाँले लिल थापा जस्ता सहयोगी मनहरुका कारण धेरै विपन्न, पीडित र असहायहरुको उद्धार पाएको बताउनुभयो । त्यस्तै आफु विदेशमा रहेरपनि स्वदेशमा रहेका आमा बुबाहरुको दुःखलाई आफ्नै परिवारको दुःख सम्झने थापा जस्ता व्यक्तिहरुको यो समाजलाई खाँचो रहेको समेत औँल्याउनुभयो ।
कार्यक्रममा समाजसेवी व्यक्तिहरु तेज बहादुर महत, मिन बहादुर, केशव रायमाझी, नेपाल पत्रकार महासघं गुल्मीका कोषाध्यक्ष कौरव खत्री, सञ्चारकर्मी दिपक नेपाली, सुरज नेपाली लगायतको उपस्थिति रहेको थियो ।