बैशाख ११,बागलुङ– बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको गठबन्धको बैठकमा सहभागि एक नेताले बताए ।
सत्तागठबन्ध बैठकमा सहभागि नेकपा एकिकृत समाजवादी सम्मानजन बाँडफाँड नभएको भन्दै छलफलबाट बाहिरीएको छ ।
सहमति अनुसार कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिने छ ।
माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुखमा उमेद्वारी दिने छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिने छ ।
बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उप प्रमुखमा उमेद्वारी दिने छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओबादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।
माओबादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको ती नेताले बताए ।
वडा अध्यक्ष तथा वडा सदस्यको बाँडफाँडका लागि छलफल चलिरहेको छ । वडा अध्यक्ष र वडासदस्यको समेत सहमति भएपछि आजै साझा प्रेस बिज्ञप्ती सार्वजनिक गर्ने गठबन्धनले जनाएको छ । बागलुङ नगरपालिकाको प्रमुखसहित केही वडाअध्यक्षमा दावी गरेको एकिकृत समाजबादी छलफलबाट बाहिरीएको हो ।