जेठ १९, गुल्मी- गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १२ घोर्लेमा उद्यमशिलता विकास तालिम कार्यक्रम गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १२ मा २३ जना युवाहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको हो ।
लुम्बिनी प्रदेश सांसद गिता थापाको पहलमा प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि (नेकपा)माओवादी केन्द्र रेसुङ्गा नगर कमिटी अध्यक्ष गिरीप्रसाद महाकिमले घोर्लेका युवाहरुलाई उद्यमशिलता तालिम प्रदान गर्ने अवसर मिलाउने लुम्बिनी प्रदेश र सांसद थापालाई धन्यवाद दिए ।
पछिल्लो समय विदेश जाने युवाहरुको संख्या वृद्धी भइरहेको हुँदा युवाहरुलाई यो तालिमले स्वदेशमै केही गर्न सक्छु भन्ने भावना जगाउने कार्यक्रमका प्रमुख अतिथि महाकिमले बताए । तालिममा सिकेका कुरालाई व्यवहारमा पनि लागु गर्न उनले आग्रह गरे ।
लुम्बिनी प्रदेश सांसद गिता थापाले आफ्नो गृह जिल्लामा धेरै यस्ता योजनाहरु पार्ने काम गरिरहेको उनले बताए । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले कार्यक्रमको बारेमा जानकारी गराउँदै तालिम पश्चात यदी कसैले उद्यम गर्न खोजे प्रदेश सरकारको निति अनुसार २० लाख सम्म कर्जा उपलब्ध गराउने बताए । उद्यमशिलता तालिम पछि उनिहरुलाई आवश्यक तालिम र उद्योग संचालन गर्न चाहिने सामाग्री घरेलु तथा साना उद्योग कार्यालयले प्रदान गर्ने कार्यालय प्रमुख घिमिरेले बताए । उनले तालिममा सहभागी सबैलाई सीपको महत्वलाई बुझेर राम्रो संग सिक्न र तालिम पश्चात् व्याहारमा उतार्न सहभागीलाई आग्रह गरे ।