साउन ०७, गुल्मी- गुल्मीमा हालसम्म तीन हजार ७ सय ४२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गरेका छन् । गत असार १ गतेदेखि हालससम्म एक हजार ७ सय ५७ महिला र एक हजार ९ सय ८५ पुरुषले नाम दर्ता गराएका हुन । जसमध्ये बाहिरी जिल्लाको लागि गुल्मीबाट २८ पुरुष र १८ महिला गरी ४६ जनाले नाम दर्ता गराएका छन् ।
अहिले जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली कार्य चलिरहेको छ। जसको लागि जिल्लाका विभिन्न स्थानबाट नागरिकहरु कार्यालय आएको जिल्ला निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए। १८ बर्ष उमेर पुगेका नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लगेर जिल्ला निर्वाचन कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम समावेश गर्न सकिनेछ । बसाईसराई र विवाह गरेको भए त्यसको प्रमाणपत्रको प्रतिलिपी आवश्यक पर्ने पन्थीले बताए ।
गुल्मीमा गत वैशाख २९ सम्म १८ बर्ष उमेर पुगेका दुई लाख २४ हजार २ सय ७६ जनाको नाम मतदाता नामावलीमा समावेश छ । जसमा एक लाख १० हजार ५९ पुरुष ,एक लाख १४ हजार २ सय १५ महिला र दुईजना अन्य रहेको रहेको कम्युटर अपरेटर पन्थीले बताए । सरकारले निर्वाचनको मिति घोषण नगर्दासम्म मतदाता नामावलीमा नाम समावेश गर्न सकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।