काठमाडौं, ८ साउन – पूर्व मुख्यसचिव लिलामणि पौडेलले संसदबाट पारित भएको नागरिकता विधेयकमा आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘२ वर्षसम्म संसदीय समितिमा छलफल गरेर समितिको सुझावसहित सदनमा पुगेको नागरिकता जस्तो संवेदनशील विधेयक एकाएक फिर्ता लगेर सरकारले संसदीय समितिका सिफारिस उल्टाएर नयाँ विधेयक पेश गर्नु र नयाँ विधेयक समितिमा दफावार छलफलमा नपठाइ हुन्छ र हुन्नु भन्दै पास गर्नु आपत्तिजनक छ।
’उनले यो विधेयकलाई राष्ट्रियसभाले फिर्ता गर्नुपर्ने धारणा राखेका छन्, उनले भनेका छन्, ‘दलहरूको विकल्प भन्दै स्वतन्त्र उमेदवारी घोषणा गर्ने र वैकल्पिक शक्तिको चाहना राख्ने नयाँ दलहरूले नागरिकता जस्तो राष्ट्रको सर्वोपरि चासोको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दैनन् र सडकमा आवाज उठाउँदैनन् भने उनीहरू सदनमा जानुको औचित्य पुष्टि हुदैन। विधेयक राष्ट्रिय सभाले फिर्ता गरोस् ,’ प्रतिनिधिसभाले गत शुक्रबार नागरिकता विधेयक बहुमतले पारित गरेको छ। यसमा एमालेले विरोध जनाएको छ भने माओवादी नेताहरुले संयुक्त सरकारको बाध्यता भएको धारणा राख्दै आएका छन्।