साउन १०, झापा – झापाको कचनकवल गाउँपालिकामा तीन जना किशोरीले आत्महत्या गरेको पुष्टि भएको छ। कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्ले गाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव फेला परेको थियो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गर्दा झुन्डिएर मृत्यु भएको देखिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आत्महत्याको कारणबारे भने केही खुल्न सकेको छैन । गएको शनिबार कचनकवल गाउँपालिका–५ का पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली, सोही स्थान बस्ने पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाकुमारी घुम्न जाने भन्दै परिवारलाई जानकारी गराएर घरबाट निस्किएका थिए।
आइतबार बिहान उनीहरु कचनकवल–५ बेल्लेगाउँस्थित सुनकोसी चिया बगानमा बयरको रुखमा झुन्डिएको अवस्थामा फेला परे। घटना धेरै शंकास्पद नदेखिए पनि अनौठो प्रकारको भएकाले सुक्ष्म ढंगबाट अनुसन्धान गरिने प्रहरीले बताएको छ।