गुल्मी गुल्मीको छत्रकोट गाउँपालिका–४ का १८ वर्षीय ऋषिरामको दाहिने खुट्टाका दुई औंलाबाहेक अरू चल्दैनन्। यीनै दुई औँलाको भरमा उनी आफ्नो भविष्य कोेरिरहेका छन् । उनले अहिले कक्षा ९ मा पढ्छन् । कँडेलले औँलाले लेख्ने, मोबाइल तथा ल्यापटप चलाउने जस्ता सबै काम गर्ने गरेका छन् ।
उनका बुबा लक्ष्मण कँडेल ऋषिरामलाई बिहान बिद्यालय छोड्न र बेलुका लिन जान्छन् । उनको घर देखी ३० मिनेटको दुरीमा श्रृङ्गा जनता माध्यमिक बिद्यालय छ । ऋषिरामलाई साथीहरूले उचालेर कक्षाकोठासम्म लैजान सहयोग गर्छन् । उनलाई कक्षाकोठा र शौचालयको सहज व्यवस्था गरिएको छ । घर र विद्यालयमा सबैको माया, सद्भाव पाएको उनी बताउँछन् ।
फरक क्षमताका भएपनि सबैको माया र सहयोगका कारण आफूलाई अरुभन्दा कमजोर र फरक मान्दैनन् उनी । परिवारले सानैदेखि पढ्न बिद्यालय लैजाने ल्याउने गरेपनि उनले खुट्टाका औँलामा कलम च्यापेर लेख्न कहिलेदेखि शुरु गरे भन्ने ठ्याक्कै सम्झना भने कसैलाई छैन ।
ऋषिरामको उपचारको लागि उनका बुबा आमाले अथक प्रयास गरे तर छोराको स्वास्थ्य अवस्थामा केही सुधार आएन । उनी परिवारको एकमात्र सन्तान हुन् । उनका अभिभावक अरु कुनै विकल्प नखोजी छोराको पढाई र स्याहार सुसारमा लागे । कहिल्यै छोराको चित्त दुखाउने र स्कुल छुटाउने काम गरेनन् आफ्नो एक मात्र लक्ष्य र सपना नै छोराको पढाई र भबिष्य रहेको बुबा लक्ष्मण बताउँछन् ।
ऋषिराम श्रृङ्गा जनता माविका अनुशासित तथा उत्कृष्ट विद्यार्थी हुन् । उनी बर्षेनी कक्षामा प्रथम र विद्यालयमै द्वितीय हुने गरेको प्रधानाध्यापक विकाशचन्द्र खरेल बताउँछन् । उनी पढाईसंगै चित्रकला, गीत, अभिनय लगायत विधामा समेत अब्बल रहेको प्रधानाध्यापक खरेलको भनाइ छ । कँडेल परिवार र ऋषिराम उदाहरणीय पात्र भएकाले सबैले उनीहरूबाट सिक्नुपर्ने प्रधानध्यापक खरेल बताउँछन् ।
विद्यालयमा शुस्त श्रवण तथा फरक शारीरिक क्षमता भएका विद्यार्थीका लागि आवासको सुविधा छ । तर, ऋषिरामलाई सहयोगी चाहिने भएकाले उनी घरमै जान्छन् । विद्यालयमा अध्ययनरत अन्य सुस्त श्रवण भएका विद्यार्थीका लागि विषय शिक्षक र सामग्री उपलब्ध गराईरहेको शिक्षा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनीले बताए ।
फरक क्षमता भएपनि सबै क्षेत्रमा अब्बल गुल्मीका ऋषिराम एक उदाहरणिय पात्र बनेका छन् । परिवारको साथ सहयोग र आफ्नो अथक मेहेनतले हरेक क्षेत्रमा अब्बल रहेका उनी आफ्नो फरक क्षमतालाई शक्ति बनाएर अघि बढ्न अरुलाई पनि प्रेरणा बन्दै आएका छन् ।