छड्के न्युज ब्यूरो – गुल्मीको इश्मा गाउँपालिका ४ खग्रेटा स्थित देउराली आधारभुत बिधालयको जिर्ण भवनमा बिद्यार्थी पढ्न बाध्य छन् । भवन जिर्ण हुँदा बर्खायाममा आकाशे पानी र हिउँदमा जाडोको समस्याले बिद्यार्थीलाई पठन पाठनमा समस्या भएको अभिभावकको गुनासो छ ।
एक अभिभावकले छड्के न्युज डटकम सङ्ग कुराकानी गर्दै भने गाउँगाउँमा सिंह दरवारको नारा बोकेर जनताको घरदैलोमा स्थानीय सरकार आयो तर यस विद्यालयको भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर सुधारमा ध्यान गएन । उनले थपे `नेकपा एमालेका सचीव तथा पुर्वमन्त्री गोकर्णराज बिष्टले बिगत ३ दशकदेखि यस क्षेत्रमा निर्वाचित हुँदै मन्त्री सम्म पुग्नुभयो तर यहाँको बिकास र शिक्षाक्षेत्रमा खासै चासो दिनुभएन ।
अभिभावकको गुनासो र बिद्यार्थीको समस्यामाथि इश्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्कालाई प्रश्न गर्दा आफू निर्वाचित भएको तेश्रो हप्तामै सो विद्यालयमा पुगेर चारकोठे भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाइसकेको बताए । छड्के न्यूजसंग कुरागर्दै अध्यक्ष खड्काले विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिका प्रतिवद्ध रहेको दाबी गरे । त्यस विद्यालयमा करिब एक सय विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।