कार्तिक २३,डोटी – नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन्। बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेका मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम दिने निर्णय गरेको एमालेले जनाएको छ । मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलब्ध गराउने बताए।
भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ। उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ।भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन्।